माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा बेमौसमी तरकारी खेती सम्बन्धी दिन दिवसीय तालिम सुरु भएको छ ।
माङसेबुङ गाउँपालिका २ नम्बर वड कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टट्रेनिङ सेन्टर प्रालि इलामको आयोजनामा आइतबारदेखि तालिम सुरु भएको हो ।
स्थानीय कृषकहरुलाई बेमौसमी तरकारी खेतिप्रति आकर्षित गरी व्यावसायिक बनाउने उदेश्यले संचालित तालिममा वडामा माथिल्लो क्षेत्रका स्थानीय ३० जना बढी कृषकहरुको सहभागिता रहेको छ ।
तालिम स्थानीय दहगाउँ सामुदायिक भवनको सभाहलमा भइरहेको छ ।
तालिमका सहभागीहरुलाई सहजकर्ता तोयानाथ भट्टराईले सहजीकरण गरिरहेका छन् । तालिममा बैमौसमी तरकारी खेतीको सैद्धान्तिक कक्षासँगै माटोपरिक्षणसहित प्रयोगात्मक कक्षा समेत गराइने सहजकर्ता भट्टराईले बताए । कृषकले आफ्नो बारीमा कुन बालि लगाउँदा उपयुक्त हुन्छ भन्ने थाहा पाउनका लागि तालिमकै शिलशिलामा माटो परिक्षण गरिने भट्टराईले बताए ।
तालिम समापनको दिन सहभागीहरुलाई विउ समेत वितरण गरिने शेर्पा मल्टिट्रेनिङ सेन्टरले जनाएको छ । सहभागीहरुलाई काँक्रा, करेला, मूला, सिमी, बन्दालगायतको विउ वितरण हुनेछ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा सिलिङतर्फको बेमौसमी तरकारी खेती प्रवर्द्धन कार्यक्रमबाट तालिम संचालन गरिएको हो । बेमौसमी तरकारी खेतामा स्थानीयलाई आकर्षित गर्दै व्यावसायिक बनाउन वडा सिलिङबाट कार्यक्रमका लागि बजेट विनियोजन वडाअध्यक्ष कृष्णबहादुर बस्नेतले बताए ।
शेर्पा मल्टिट्रेनिङ सेन्टरका प्रतिनिधि राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडाध्यक्ष बस्नेतले गरे । कार्यक्रममा वडाध्यक्ष बस्नेतसहित नेपाली कांग्रेसका प्रतिनिधि कमलबहादुर कार्कीले मन्तव्य राखेका थिए । वक्ताहरुले तरकारी खेतीका लागि प्रशस्त सम्भावना रहेको क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको तालिममा सक्रितापूर्वक सहभागी हुन कृषकहरुलाई आग्रह गरेका थिए । कार्यक्रमका संचालन शेर्पा मल्टिट्रेनिङ सेन्टरका प्रतिनिधि बालकृष्ण बस्नेतले गरेका थिए ।