इलामको अभियान–पर्यटन प्रवर्धन

इलाममा म्याराथुन

  नयाँ बुलन्द
196 Shares


इलाम : पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँवर्षको अवसर पारेर आउँदो वैशाख १ मा पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथुन विजेताले अढाई लाख तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन ।

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिँदैछ । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि माइपोखरीको सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ ।
इलामका मेयर केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताए ।

प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आशा आयोजकले गरेको छ । प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ । पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेले डेढ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १०औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

महिलातर्फको म्याराथुनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि इलाम नगर, सन्दकपुर गाउँपालिका र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ–संस्थाबाट यो रकम संकलन गरिने आयोजकले जनाएको छ । यो म्याराथुनले इलाम र सन्दकपुरसहित जिल्लाको खेलकुद र पर्यटन विकासमा महŒवपूर्ण योगदान गर्ने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार