इलाम : गत ५ फागुनमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले र नेकपा माओवादी जिल्ला कमिटीले स्ववियुमा निर्वाचित हुने इलामका ४ क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्मान गरेको हो । अनेरास्ववियुका फ्रयाक्सन इन्चार्ज वृहस्पती उपरकोटीको अध्यक्षता र कपा एमाले जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द शर्मा रमण, माओवादी जिल्ला अध्यक्ष बिजय खम्बु, एमाले जिल्ला उपाध्यक्ष उदय राई, एमाले प्रदेश कमिटी सदस्य गणेश बराल, एमाले उपसचिव रविन्द्र सुवेदी, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य राम सञ्जेल, एमाले जिल्ला कमिटी सदस्य गोपाल नेपाल, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रमिला तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, माओवादीका धिरेन्द शर्मा रमण, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नयन बान्तवा राई र अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम माओवादी केन्द्रका गञ्जु प्रधानले संचालन गरेका थिए ।
एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, राप्रपा निकट राप्रवि संघले प्यानल बनाएर स्ववियु बनाएर चुनावमा होमिएका थिए । इलामको ४ वटै क्याम्पसमा अनेरास्ववियूले अध्यक्ष जितेको थियो । इलाममा महेन्द्र रत्न बहुमुखी क्याम्पस, गरुवा बहुमुखी क्याम्पस, एकतप्पा बहुमुखी क्याम्पस र मंगलबारे बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।
यसैबीच माओवादी नगर समितिले अखिल (क्रान्तिकारी) बाट निर्वाचित स्ववियुका पदाधिकारीलाई छुट्टै समेत सम्मान गरेको थियो ।
महेन्द्ररत्नमा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको स्वतन्त्र प्यानल नै विजयी भएका थिए । मंगलबारे क्याम्पसमा समेत एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बिजयी हासिल गरेका थिए ।
माई नगरस्थित गरुवा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको थियो । एकतप्पा बहुमुखी क्याम्पसमा पनि सहमतिमै नेतृत्व टुंगो लागेको थियो ।