माङसेबुङ ४ मा विद्युतीकरण, मिटरबक्स नभएकाले बत्ति बाल्नबाट वञ्चित

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मा पहिलोपटक विद्युतीकरण भएको छ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथको रवि जोड्ने फाल्गुनन्द मार्ग (दमक चिसापानी सडक) आसपासको बस्तीमा विद्युतीकरण भएको हो ।

नेपाल विद्युत प्राधिकरण ग्रीड सोलार तथा इनर्जी इफिसियन्सी आयोजना अन्तरगत ग्रामीण विद्युतीकरण आयोजना मार्फत विद्युतीकरण भएको हो ।

इलामको चुलाचुली गाउँपालिका चपेटीदेखि सुरु भएको विद्युतीकरणको लाइन सिङफेरे स्कूलदेखि लाटीचोकसम्म विस्तार भइसकेको छ । सो क्षेत्रका करिब एक सय घुरधुरीमा विद्युत विस्तार भइसकेको वडाअध्यक्ष नविन योङहाङले जानकारी दिए ।

तर उनीहरुले विद्युत उपभोग गर्न भने पाएका छैनन् । घरनजिकै गाडिएको विजुलीको पोल र टाँगिएको विजुलीको तार हेरेरै चित्त बुझाउन बाध्य छन् । कारण, अरु केही नभएर मिटरबक्स जडान नभएकै कारण हो ।

सो क्षेत्रमा मिटसबक्स उपलब्ध नभएकाले विद्युतीकरण भएर पनि विजुली उपभोग गर्नबाट वञ्चित हुन  बाध्य परिरहेको वडाध्यक्ष योङहाङले बताए । ‘हामीले नेपाल विद्युत प्राविधकरणसँग मिटरबक्स माग गरेका छौं । अधिकाशं सेवाग्राहीको जग्गा धनिपूर्जा नभएका कारण मिटरबक्स ल्याउनमा केही समस्या भइरहेको छ । त्यलाई हामी व्यवस्थापन गरिरहेका छौं’ वडाअध्यक्ष योङहाङले भने, ‘मिटरबक्स भएको भए अहिले मेन लाइनको करिब एक सय घरले विद्युत उपभोग गर्न पाउँने थिए । अब चाँडै नै मिटरबक्स ल्याएर विजुली बाल्नेछौं ।’

अहिले वडाअध्यक्ष योङहाङको नेतृत्वमा सिङफेरे, मार्चेबुङ र सिमलटार जाने क्षेत्रमा निरन्तर विद्युतीकरण भइरहेको छ । ती क्षेत्रमा विद्युत विस्तारसँगै वाइरिङको धमाधम भइरहेको छ । आफ्नो कार्यकालभरी वडाका सबै घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष योङहाङले बताए ।

माङसेबुङ गाउँपालिका ४ मा चार सय ५६ घरधुरी छन् ।

त्यहाँका बासिन्दाहरु अहिलेसम्म कतिपयले सौर्य उर्जामार्फत उज्लायो उपभोग गरिरहेका छन् । कतिपयले कुपीकै भरमा रात विताउन बाध्य छन् ।

यसअघि सीमाना जोडिएको क्षेत्र चुलाचुली गाउँपालिका र माङसेबुङकै अन्य वडाहरुमा विद्युतीकरण भएपनि सो वडामा विद्युतीकरण हुन सकेको थिएन । माङसेबुङ गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ को अधिकाशं क्षेत्र र ६ को केही क्षेत्रमा यसअघि नै विद्युतीकरण भइसेकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार