पाँचथरमा साबुन उद्योग सञ्चालन

  नयाँ बुलन्द
917 Shares

 पाँचथरः फालेलुङ गाँउपालिका ३ ताङ्लेपाका २८ बर्षीय एक युवकले गाँउमै साबुन उद्योग खोलेका छन् । बिदेशबाट फर्किएपछि ताङ्लेपाका प्रयास केरुङले ‘फालेलुङ साबुन उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।

२५ लाखको लगानीमा सञ्चालित उद्योगबाट केरुङले ‘फालेलुङ लुगा धुने साबुन’ उत्पादन सुरु गरेका हुन् । साबुन उत्पादनका लागि चाहिले कच्चा पदार्थ बिराटनगरबाट ल्याउने गरेको उनले सुनाए । ‘उद्योगबाट दैनिक दुई सय वटा साबुन उत्पादन गर्न सकिन्छ,’ केरुङले भने ‘साबुन खपतको अवस्थालाई हेरेर उत्पादन गरिरहेको छु ।’

उद्योगबाट २५० ग्रामको साबुन उत्पादन भईरहेको छ । आफूले उत्पादन गरेको साबुन प्रतिगोटा ३५ रुपैँयाले बेच्ने गरेको उनले सुनाए । ‘यही साबुन व्यापारीले ४५ रुपैँयासम्म बिक्रि गर्छन्,’ केरुङले भने ।

मलेसियामा पाँच बर्ष बिताएर स्वदेश फर्किपछि उनले उद्योग सञ्चालन गरेका हुन् । बिदेशमा कमाएको पैसा उद्योग सञ्चालनका लागि खर्चिएको उनको भनाई छ । ‘बिदेशमा सिकेको सिपबाट उद्योग सञ्चालनमा ल्याएको छु,’ केरुङले भने ‘उता सिकेको सिप र युट्यूब हेरेर साबुन उद्योग सञ्चालमा ल्याएको छु ।’

युवाहरुलाई उद्यसील बनाउने उद्धेस्यले उद्योग सञ्चालनमा ल्याएको उनले बताए । ‘बिदेशको कमाई अन्यत्र पनि लगानी गर्न सक्थे,’ केरुङले भने ‘गाँउमै उद्यम गरेर आयआर्जन गर्नुपर्छ भनेर उद्योग खोलको हो ।’

आफूले उत्पादन गरेको साबुन बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गरिदिन्छ भन्ने उनको अपेक्षा छ । ‘ग्रामीण क्षेत्रमा उद्योग सञ्चालनमा ल्याएको छु,’ उनले भने ‘यहाँबाट उत्पादित साबुन खपत गराउनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्छ ।’ आफ्नै पालिकामा उत्पादन गरिएको साबुन प्रयोग गरिदिन केरुङले स्थानीयसँग आग्रह गरेका छन् ।-जोरपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार