माङसेबुङ : प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयमा भएको आगजनीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटना दुखद र निन्दनीय कार्य बताउँदै दोषीलाई कारवाही गर्न माग गरेको छ । ‘जनतालाई सेवा प्रदान गर्ने थलोमा भएको आगजनी र भौतिक क्षति ज्यादै दुखद र निन्दनीय कार्य हो । यस कार्यप्रति हाम्रो आपत्ति र दोषीको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन हामी अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा माङसेबुङ नागरिक समाजका चनबहादुर सेर्मा, प्रदेश नं. १ पहिचानसहितको पुन:नामाङ्कन अभियान समितिका सहसंयोजक केहरसिंह योङहाङ र प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समिति माङसेबुङका अध्यक्ष उदयविक्रम तुम्बापोले हस्ताक्षर गरेका छन् ।
माङसेबुङ गाउँपालिका ५ वडा नम्बर वडा कार्यालयमा गएराती आगजनी भएको थियो । आगजनीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति पुगेको थियो ।
राती अन्दाजी साढे ११ बजे आगलागी हुँदा कार्यालयको झ्यालसहित सोफा, टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, कार्यपेटलगायत फर्नचर जलेर नष्ट भएको थियो ।
वडा कार्यालयको आगलागी स्थानीयबासीहरुको सहयोगमा राती नै नियन्त्रणमा आएको थियो ।
लाजेहाङको सम्झनामा माङेबुङमा श्रदाञ्जलीसभा राष्ट्रिय सहिद घोषणा गर्न माग
‘कोशी’ प्रदेश नाम विरुद्ध विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते भई बिहीबार राती निधन भएका पदम लिम्बू (लाजेहाङ) को सम्झनामा इलामको माङसेबुङमा श्रदाञ्जलीसभा गरिएको छ ।
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ माङसेबुङ ५ स्थित यलम्बर चोकमा श्रदाञ्जलीसभा गरी लिम्बूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेको छ ।
श्रदाञ्जलीसभामा युवा व्यवसायी जसहाङ सावदेन, टेकहाङ सोङ्मी, इन्द्र आङदेम्बे, आङ्बुहाङ अबोध अविरल र उदयविक्रम तम्बापोले सम्बोधन गरका थिए ।
उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन गर्न र स्वर्गीय लाजेहाङलाई सहिद घोषणा गरी क्षतिपूर्तिको माग गरेका हुन् ।
धरान-१५ का लाजेहाङ संयुक्त संघर्ष समितिले ‘कोशी’ प्रदेश नामाङ्कन खारेजीको मागसहित ५ चैतमा विराटनगरमा विराटनगमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए ।
टाउकोमा चोट लागेका उनी मंगलबार राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको बिहीबार राती निधन भएको छ ।
त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
लेटरप्याड प्रयोग नगर्न आग्रह
यसैबीच संयुक्त संघर्ष समितिले माङसेबुङ गाउँपालिका र मातहतका कार्यालयहरुलाई आफ्नो साइनबोर्ड र लेटरप्याडमा ‘कोशी’ प्रदेश प्रयोग नगर्न अनुरोध गरेको छ ।
संघर्ष समितिको कार्यक्रम ‘कोशी’ प्रदेश लेखिएको साइनबोर्ड हटाउने र लेटरप्याड जनाउने कार्यक्रम रहेको भन्दै त्यसप्रति सचेत भएर प्रयोग नगर्न गाउँपालिकालाई अनुरोध गरेको हो ।
मुख्यमन्त्री कार्की र प्रदेशसभा सदस्य रानाको पुत्ला दहन
यस्तै प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समितिले इलाममा प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सदस्य रामबहादुर मागर (राना) को पुत्ला दहन गरेका छन् ।
संघर्ष समितिले शुक्रबार साँझ इलाम चोकबजारमा कार्की र रानाको पुत्ला दहन गरेका हुन् । उनीहरुले कार्की र रानाविरुद्ध नाराबाजी समेत गरे ।