विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।
पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ ।
माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ ।
माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे ।
नाम राख्नु पर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।