
इलाम : प्रदेशको नाम ‘कोशी’ खारेज गरी पुनः नामाङ्कनको आन्दोलनमा प्रहरी दमनबाट आफ्ना नेता पदम लिम्बू ‘लाजेहाङ’ को निधन भएसँगै संयुक्त संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
‘प्रदेश १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ को शुक्रबार बसेको आपतकालीन बैठकले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।
संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा लिम्बूलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।
बैठकले मृतक परिवारलाई तत्कालका लागि संयुक्त संघर्ष समितिको तर्फबाट एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकको निर्णय छ । बैठकले पदम लिम्बूको तस्बिर शुक्रबारदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले शुक्रबार बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।
लिम्बूको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान घोपामा उपचारकै क्रममा बिहीबार राति साढे २ बजे निधन भएको थियो । धरान-१५ का लिम्बू संघर्ष समितिले ‘कोशी’ प्रदेश नामाङ्कन खारेजीको मागसहित ५ चैतमा विराटनगरमा विराटनगमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए । र
टाउकोमा चोट लागेका उनी मंगलबार राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको बिहीबार राती निधन भएको छ । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको हो ।
प्रदेशसभा सदस्यहरुलाई गाउँ जानै सकस
यसैबीच प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचानवादी आन्दोलनकारी आक्रामक बनेपछि प्रदेशसभाका धेरैजसो सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जानसमेत डराइरहेका छन् ।
पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालको शुरूमै गरेको भन्दै खुशी भए पनि निरन्तर आन्दोलन चर्कँदै गएपछि सांसदहरूलाई यतिबेला तनाव थपिएको छ । दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ राखे पनि सांसदहरू भने आफ्नै निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।
केही दिन अगाडि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको थियो । जसका कारण प्रदेशसभा सदस्यहरू थप त्रासमा छन् । मंगलबार ताप्लेजुङ पुगेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ज्यान मार्ने धक्दी दिँदै आक्रमणको प्रयास गरेका थिए । कडा सुरक्षा हुँदा पनि आक्रमण प्रयास भएपछि अब शान्त नबनेसम्म प्रदेशको राजधानीभन्दा बाहिर जान नसकिने मन्त्रीहरू बताउँछन् ।
गएको १७ फागुनमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘किरात लिम्बुवान सगरमाथा’ नाम प्रस्ताव गरेका थिए भने एमालेले प्रस्ताव गरेको ‘कोशी’ मा माओवादी र राप्रपाले समेत मतदान गरेको थियो । नेकपा एस र जसपाले ल्याएको नाम अस्वीकृत भएको थियो । प्रदेश सभाका ९३ सदस्यमध्ये कोशीको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । सोही दिनदेखि सुरु भएको आन्दोलनका कारण प्रदेश असान्त बन्दै गएको छ ।















































