लाजेहाङ सुक्वाबा भनेर चिनिने उनकाे आज (शुक्रबार) बिहान निधन भएको हो । धरान-१५ घर भएका लिम्बूको बीपी प्रतिष्ठान अस्पतालबाट थप उपचारका लागि काठमाडाैं लैजाने तयारी भइरहँदा निधन भएकाे हाे ।
नामकरण विरुद्धको संयुक्त सङ्घर्ष समितिले लिम्बूको हत्याको जिम्मा राज्यले लिनुपर्ने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समितिले ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षड्यन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनुपर्दछ’, भनेकाे छ ।
४२ वर्षीय लाजेहाङ आन्दोलनरत दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बूवानको भ्रातृ संगठन ‘लिम्बूवान भोलेन्टियर्स’का केन्द्रीय सह–कमान्डर हुन् । तेह्रथुमको साब्लामा जन्मिएका उनको घर मोरङको लालभित्तीमा पर्छ । तर, पछिल्लो समय सुनसरीको धरान बस्दै आएका उनी गत १७ फागुनमा प्रदेश संसदकाे दुई तिहाइ बहुमतले ‘कोशी’ नाम राखेपछि भएको पहिचानको आन्दोलनको अग्रमोर्चामा थिए ।
सोही क्रममा ५ चैतमा प्रदेश राजधानी विराटनगरमा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्ज गरेका थिए । प्रहरीको लाठीचार्जले गम्भीर घाइते लाजेहाङको आज निधन भएको हो ।
लिम्बुवान आन्दोलनका क्रममा यसअघि राजकुमार आङदेम्बे (माङतोक) र मनिल तामाङको ज्यान गइसेकेको छ । उनीहरुलाई सरकारले शहिद घोषणा गरिसकेको छ ।