‘कोशी’ नामकरणपछि गाउँ जानै डराए प्रदेशसभा सांसद

  नयाँ बुलन्द
553 Shares

विराटनगर : प्रदेश नामकरणपछि कोशी प्रदेश सभाका सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।

पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालको शुरूमै गरेको भन्दै खुशी भए पनि निरन्तर आन्दोलन चर्कँदै गएपछि सांसदहरूलाई यतिबेला तनाव थपिएको छ।

दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ राखे पनि सांसदहरू भने आफ्नै निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।

मुख्यमन्त्री हिक्मत कुमार कार्की तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोमाथि आक्रमणको प्रयास नै भएको थियो। जसका कारण प्रदेशसभा सदस्यहरू थप त्रासमा छन्। नामकरणपछि लगातार पहिचान पक्षधरहरूले विराटनगरमा आन्दोलन गरिरहेका छन् ।

गत आइतबार विराटनगरमा प्रदर्शनकारीहरूले बृहत् र्‍याली निकालेका थिए । र्‍यालीमा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो।

त्यही दिन मुख्यमन्त्री हिक्मत कार्कीले ओखलंढुंगामा प्रदेश सभाका ९० प्रतिशत सांसदको समर्थनमा ‘कोशी’ नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका थिए ।

त्यसपछि थप आक्रोशित भएका पहिचान पक्षधरहरूले भोलिपल्ट अर्थात् सोमबार ओखलढुंगामै मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास गरेका थिए ।

मंगलबार ताप्लेजुङ पुगेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ज्यान मार्ने धक्दी दिँदै आक्रमणको प्रयास गरेका थिए ।

कडा सुरक्षा हुँदा पनि आक्रमण प्रयास भएपछि अब शान्त नबनेसम्म प्रदेशको राजधानीभन्दा बाहिर जान नसकिने मन्त्रीहरू बताउँछन् । ‘अहिले राजधानीभन्दा बाहिर हुने कार्यक्रम रोक्न भन्न थालेका छौँ,’ एक मन्त्रीले भने, ‘झन्डावाल गाडी ता देख्नै नहुने अवस्था छ ।’

नामकरणपछि निर्वाचन क्षेत्रमा जान असहज बनेकाले विराटनगरमै बसिरहेको इलाम क्षेत्र २ (२)बाट निर्वाचित राम रानाले बताए । उनी कोशी प्रदेशको प्रस्तावक थिए । ऐतिहासिक काम गरे पनि पछिल्लो समय हुने गतिविधिले भने निर्वाचन क्षेत्रमा जान समस्या भएको सांसद रानाले बताए । उनी विराटनगरमै कोठामा बसिरहेका छन् ।

आदिवासी जनजाति सांसदहरू थप आक्रोशित बनेका छन ।  मुख्यमन्त्रीको अभिव्यक्तिले पछि थप संशकित हुनुपरेको सांसदहरूले बताएका छन् । ‘मुख्यमन्त्रीज्युले नयाँ आउने सरकारलाई आन्दोलन थुपारेर जानु पर्‍यो भनेर बोल्नुभएको जस्तो छ,’ प्रदेशसभा सदस्य प्रदीप सुनुवारले भने, ‘सरकारले नै आन्दोलनको आगोमा घ्यु थप्न खोजे जस्तो छ ।’

जिल्लामै भए पनि कार्यक्रममा जाँदा भने सोच विचार गरेर मात्रै जानुपर्ने अवस्था भने आएको ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिङ हागामले बताए । पहिलाजस्तो नबुझी हिँड्न सक्ने अवस्था नरहेको उनले बताए ।

राष्ट्रपतिको निर्वाचनमा काठमाडौँ गएका धेरै प्रदेशसभा सदस्यहरू अहिले पनि उतै छन । केही विराटनगरमा छन् ।

प्रदेशकै केही मन्त्रीहरूले गल्ती गरेको भन्दै माफी मागिसकेका छन् ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा जाँदा असर पुग्ने भएपछि उनले नाम परिवर्तन गर्न सकिने भन्दै सन्तुलित  प्रतिक्रिया दिए । उनी सोलुखुम्बुका हुन् । इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा पहिचान पक्षधरहरूको बाहुल्य रहेको छ ।

फागुनमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए भने एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोशी प्रस्ताव गरेका थिए । नेकपा एस र जसपाले ल्याएको नाम दुई तिहाइले अस्वीकृत भएको थियो ।

प्रदेश सभाका ९३ सदस्यमध्ये कोशीको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो ।

नेकपा एस र जसपाका ५ सांसद थिए तर जसपाकी निर्मला मतदान गर्ने बेला बाहिर थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार