इलाम बजार तेश्रो साना सहरी खानेपानीको काम ९८ प्रतिशत पूरा

  राम योङहाङ
182 Shares

इलाम : इलाम सदरमुकाममा संचालन हुन लागेको ‘इलाम बजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माणतर्फको ९८ प्रतिशत काम सकिएको छ ।

एसियाली बिकास बैंक एडीवी (एडीबि) को सहयोगमा संचालन हुन लागेको आयोजनाको ९८ प्रतिशत काम सकिएको बुधबार इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा आयोजना व्यवस्थापक मेघराज धिमालले जानकारी दिए ।

आयोजनाका व्यवस्थापक धिमालले लकडाउनमा काम हुन नसकेकाले केही ढिला भएको बताउँदै चाँडै काम सम्पन्न गर्न आफुहरु लागि परेको बताए । यही महिनाभित्र घरघरमा पनी झर्ने गरी काम भइरहेको धिमालले जानकारी दिए ।

८४ करोड ७९ लाख १८ हजार ६ सय १५ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाख सात हजार चार सय ४७ रुपैयाँको सम्झौतामा ‘रमण कन्ट्रक्सन कम्पनी’ ले आयोजनाको काम भइरहेको छ । आयोजनाको पाइपलाइन विस्तार, पानी प्रशोधन केन्द्र, ट्याङ्की निर्माण लगायतको काम सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

आयोजना अन्तरगत राते र मेवा खोलामा दुईवटा इन्टेक निर्माण भएको छ भने गीताङ खोलाको इन्टेक मर्मत भएको छ । त्यस्तै सातवटा नयाँ ट्याङ्की निर्माण भएका छन् भने चारवटा पुरानो ट्याङ्की मर्मत भएका छन् ।

त्यस्तै एक सय १२ किलोमिटर पाइपलाइन विस्तार भएको छ । आयोजना मार्फत हाल तिन हजार तिन सय ४४ घरधुरीमा पाइप जडान भइसकेको छ । तीमध्ये तिन हजार तिन सय घरधुरिमा मिटर जडानको काम समेत सम्पन्न भइसकेको व्यवस्थापक धिमालले जानकारी दिए । बाँकी ४४ घरधुरीमा भने घरधनीकै अनुरोधमा मिटर जडान नगरिएको उनले बताए ।

त्यस्तै आयोजनाको सरसफाई अन्तरगत तिनवटा सार्वजनिक शौचालय निर्माण भएका छन् ।

खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार आठ सय ६१ रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत चार करोड २० लाख रुपैयाँमार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजनाका लागि एसीयाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

आयोजनाको मर्मत सम्भार दुई वर्षसम्म निर्माण कम्पनीले नै गर्ने सम्झौतामा उल्लेख छ । आयोजना पश्चात इलाम बजारमा खानेपानी समस्या समाधान हुने नगरवासीको अपेक्षा छ । आयोजना सम्पन्न भएपछि इलाम नगरबासीको खानेपानी समस्यालाई सम्बोधन हुने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । उनका अनुसार जडान भएका धारामा २४ घण्टा नै पानी झर्ने छ ।

सदरमुकाममा वर्षौंयता खानेपानी अभाव भइरहेका बेला सन् २०१६ देखि आयोजना सुरु गर्ने गरी एडीबी लगानी गर्न तत्पर थियो । तर, मुहान क्षेत्रका आदिवासी जनजाति समुदायको ‘अधिकार वेवास्ता गरेको’ भन्दै निवेदन परेपछि एडीबीले आयोजनामा लगानी रोकेर सन् २०१६ मा इलामको खानेपानी आयोजनामा लगानी गर्ने कुनै योजना राखेन । पछि एडिबी र जिल्ला स्थित सरोकारबालाले मुहान रहेको सन्दकपुर क्षेत्रका बासिन्दाहरुसँग छलफल गर्दा कुनै पनि समस्या नहुने निष्कर्श निकालेपछि पुन लगानी भित्रिएको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याइनेछ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०/१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिनेछ । आयोजनाको अवधि २० वर्षका लागि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार