काठमाडौं : भोलि (बिहीबार) हुने नयाँ राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि भोलि हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट मतदान नगर्ने निर्णयमा पुगेको हो ।
बुधबार (आज) राप्रपाको बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ उनको भनाई छ ।
राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ ।
राष्ट्रपति पदका लागि ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । देशका सबै जिल्लाबाट भोलि हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्न सांसदहरु आजै काठमाडौं आइसकेका छन् ।