इलामको बहिनी पाथिभरा मन्दिरमा आर्थिक हिनामिना

गाउँपालिकाले मन्दिरलाई आफ्नो स्वामित्वमा ल्याएर छानविन सुरु

इलाम : इलामको रोङ गाँउपालिकामा अवस्थित बहिनि पाथीभरा  मन्दिरमा भक्तजनले चढाएको दान दक्षिणा व्यवस्थित गर्न नसकेको चर्चा बाहिर आएको छ । पाथिभरा संरक्षण संस्थाबाट आर्थिक हिनामिना भएको भन्दै आबाज उठ्न सुरु भएको हो । मन्दिरमा संकलन भएको दक्षिणालाई संस्थाले पारदर्शी तवरले हालसम्म सार्वजनिक नगरेको मन्दिरका आजिवन सदस्य राम आचार्यको भनाई छ । आर्चायका अनुसार मन्दिरमा के कती रकम संकलन हुन्छ अहिले सम्म आफुहरुलाई थाहा नभए बताए ।
यता रोङ गाउँपालिकाले तयार पारेको पाथिभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ मा हरेक चार महिनामा मन्दिरको कार्यक्रम,बजेट र आम्दानी समिक्षा गर्नुपर्ने उल्लेख छ । तर मन्दिर संरक्षण संस्थाले २०७५ सालयता साधारण सभा समेत गरेको छैन । जिल्ला प्रशासन कार्यालय इलाममा २०५५ सालमा दर्ता भएको यो संस्था २०७३ सालदेखी नविकरण समेत भएको छैन । आर्थिक बर्ष २०७६÷७७ को लेखा परिक्षणमा मन्दिरको आम्दानी ५१ लाख रुपैयाँ रहेको उल्लेख छ भने ७७÷७८ मा २० लाख रुपैयाँ मात्र आम्दानी देखाइएको छ । मन्दिरको आम्दानी र खर्च चित्तबुझ्दो नपाएपछि छानविनका लागि स्थानियले पटक पटक आवाज उठाउँदै आएको कुटीडाँडाका योगेश चाम्लिङले बताए । उनले स्थानियले पटकपटक आवाज उठाएपनि संम्बन्धित निकायको नजर नपुगेको बताए ।
मन्दिरको आम्दानी हिनामिना गरेको भन्दै पाथिभरा संरक्षण संस्थाका पदाधिकारी विरुद्ध अक्तियार र जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी समेत परेको छ । तर राजनैतिक संरक्षणका कारण संस्थाका पदाधिकारीमाथि छानविन हुन सकेको छैन । उता कोरोना संक्रमण,निर्वाचन लगायतका कारण साधारण सभा हुन नसकेको गैर जिम्मेबार जबाफ पाथिभरा संरक्षण संस्था अध्यक्ष दौलत राईको रहेको छ ।
हाल मन्दिरको नाममा संस्थासंग १५ लाख ५० हजार नगद र १४ तोला सुन रहेको बताइएको छ । लामो समयसम्म आयव्यय सार्वजनिक नगरेपछि रोङ गाउँपालिकाले मन्दिरलार्ई आफ्नो स्वामित्वमा ल्याएर छानविन सुरु गरेको छ ।
मन्दिर पालिकाको स्वामित्वमा
बहिनी पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहनेगरी लामो समयपछि गाउँपालिकामा स्वामित्व ल्याइएको हो ।
रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी सो मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकाले कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको बताए । अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिक स्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भए बमोजिम गाउँपालिकाले जारी गरेको व्यवस्थापन ऐनअनुसार मन्दिरको सञ्चालन गर्नेगरी समितिलाई जिम्मेवारी दिइएको जानकारी दिए ।
बहिनि पाथिभरा दर्शनका लागि यात्रा कसरी गर्ने ?
मेची राजमार्ग बाट झापाको चाराली बाट १ घण्टा उकालो उक्लीएपछि हाँसपोखरी पुगिन्छ । जहाँ बाट पूर्वी नेपालको प्रमुख धार्मिकस्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ । पाथिभरा मन्दिर दर्शनका लागि कुटिडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ । धेरै भक्तजनहरूले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि बहिनी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् । धार्मिक आस्थाको प्रतिक पाथिभराप्रति आम नागरिकको विश्वास बढ्दो छ । यो विश्वासलाई टिकाईराख्न मन्दिर व्यवस्थापनका नयाँ पदाधिकारीको काधमा जिम्मेवारी थप चुनौत बनेर खडा भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार