इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको जिल्ला भेला तथा छलफल कार्यक्रम शनिबार सकिएको छ ।
नेपाल पत्रकार महासंघ इलामको सभाहलमा फोनिज इलामको अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको भेलाले फोनिजको नीति तथा विधान सम्मेलनमा पठाउने विभिन्न सुझाव संकलन गरेको छ ।
भेलामा फोनिजको संस्थागत सदस्य संस्थाहरुको विकास, अल्पसंख्यक पत्रकारबारे फोनिजको नीति, फोनिजको आर्थिक नीति, फोनिजको तालिम तथा प्रशिक्षण नीति, फोनिजको प्रकाशन तथा प्रचार निति र पत्रकार महिलाको विकासबारे फोनिजको नीतिबारे छदफल भएको थियो ।
फोनिजको विधानमा आवश्यक संशोधन एवम् फोनिजको नीतिगत सुधारका लागि सुझावहरु प्राप्त भएको फोनिज इलामका अध्यक्ष योङहाङले जानकारी दिए ।
भेलामा फोनिज प्रदेश सदस्य अतित योङहाङ, अनुशासन समिति संयोजक वीरु पापो, संघीय प्रतिनिधि सन्तोष नेम्बाङ, प्रदेश प्रतिनिधि लोकेन थेवे र दीपक राईलगायत पदाधिकारी र सदस्य एवम् साधारण सदस्यहरुको उपस्थिती थियो ।
त्यस्तै भेलाले संघीयता र पहिचान प्राप्ति आन्दोलनको मर्मविपरित प्रदेश १ को नाम ‘कोशी’ कायम गरिएकोप्रति घोर निन्दा र भत्सर्ना गरेको छ । साथै, पहिचानविरोधी उक्त कदमको विरोध गर्दै कोशी खारेज गरी प्रदेशको नाम ‘लिम्बुवान किरात’ कायम गर्न माग गर्दै विज्ञप्ति जारी गर्ने र किरात लिम्बुवानका लागि जारी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ ।
फोनिजको नीति तथा विधान सम्मेलन आगामी २७ र २८ फागुनमा मधेस प्रदेको सर्लाही जिल्लास्थित हरिवन नगरपालिकामा हुँदैछ ।