फाकफोकथुमको तीनजुरे चियाले पायो अन्तर्राष्ट्रिय ‘ग्राण्ड गोल्ड मेडल’ अवार्ड

इलाम:  फाकफोकथुममा रहेको तीनजुरे चिया कृषक सहकारी संस्था लिमिटेडले उत्पादन गरेको ‘पर्ल गोल्डेन ब्ल्याक टि’ ले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको सेकेण्ड विश्व ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसनमा विश्वका देशहरुलाई पछिपार्दै तीनजुरे टिले ग्राण्ड गोल्ड मेडल प्राप्त गरेको हो ।

चीनबाट प्राप्त प्रमाणपत्रलाई आज काठमाडौँमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आयोजित एक विशेष समारोहकाबीच हस्तान्तरण गरिएको छ  । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले उक्त अवार्ड विजेतालाई प्रमाणपत्र हस्तान्तरण गरे । तीनजुरे टि का तर्फबाट सञ्चालक ऋतुकान्त खनालले उक्त अवार्ड ग्रहण गरे ।

प्रतियोगितामा विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलङ्का लगायतका देशको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा अन्य पाँचवटा चियाले स्वर्णपदक प्राप्त गरेका छन् । जसमा फार्मर टि प्रोसेसिङ इन्डष्ट्रिजको एफटी–हिमालयन गोल्ड, हिमालयन सांग्रिला टि प्रोड्युसर्सको सांग्रिला गोल्ड, गोर्खा टि स्टेट प्रा.लि.को जिटिई गोल्डेन टि, शिद्धदेवी टि स्टेट प्रा.लि.को सिल्भर विङ्स र कन्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योग प्रा.लि.को गोल्डेन टिप्स टि रहेका छन् ।

अवार्ड हस्तान्तरणपछि बोल्दै प्रमुख अतिथि गजुरेलले यो नेपालकै लागि गौरवको विषय भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले यो अवार्डले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया अब्बल रहेको पुष्टि गरेको बताए । चीन नेपाली चियाको लागि पोटेन्सियल मार्केट भएकोले त्यहाँ बेच्न प्रयास गर्नुपर्ने उनको भनाई थियो । चीनले नेपाली चियाको प्रवद्र्धन गर्न सहयोग गर्ने र ल्याबको लागि पनि सहयोग गर्ने प्रस्ताव गरेको उनले सुनाए ।

कार्यक्रमका सहभागीहरुलार्य स्वागत गर्दै बोर्डका निर्देशक डा.दीपक खनालले प्रतियोगिताका लागि १६ वटा नमुना पठाएकोमा १० वटाले अवार्ड जित्न सफल भएको जानकारी दिए । यो सरकारी तवरबाट प्रतियोगितामा सहभागी भएको र अवार्ड जितेको पहिलो भएको उनले सुनाए । यो प्रतियोगिता गत वर्ष २०२२ को सेप्टेम्बर २० देखि २१ सम्म सञ्चालन भएको थियो ।

संस्थाको पृष्ठभूमि

अर्गानिक चिया खेतीको माध्यमबाट किसानको आर्थिक उन्नति गर्ने र स्वदेशी तथा विदेशी बजारमा अर्गानिक चिया बिक्री गर्ने संस्थाको उदेश्यले २०५१ सालमा ४२ जना कृषकले स्थापना गरेको नेपालै पहिलो अर्गानिक र अर्थोडक्स चिया उत्पादन गर्ने सहकारी हो । हालको फाकफोकथुम वडा नम्बर २ मा दर्ता रहेको र वडा नम्बर ६ को सिमानासंग जोडिएको यो सहकारीमा २७६ जना शेयर सदस्य छन् भने सहकारीको मातहातमा ४९ रोपनी जमीन छ । ७ रोपनी किसानलाई घर बनाउन,फ्याक्ट्री निर्माण गर्न र अन्य ७ रोपनी भौतिक निर्माणको प्रयोजन गरी बाँकी ३५ रोपनीमा चिया खेती गरिएको छ । २० हजार केजी वार्षिक चिया उत्पादन क्षमता भएता पनि यसवर्ष भने १३ हजार केजी मात्रै उत्पादन भएको जनाइएको छ  ।

यसअघि संस्थालाई किषानहरुको प्रथामिक उपचारका लागि हेल्थ क्लिनिक निर्माण गर्न मास इन्टरनेशनलले १० हजार युरो आर्थिक सहयोग गरेको छ । भवन निर्माणको कार्य ६० प्रतिशन सम्पन्न भएको छ । साथै वार्षिक पाँच हजार युरो उलब्ध गराउने सहमति भएको संस्थाका अध्यक्ष खनालले जानकारी दिए । हाल एभ्रोरुट र मास दुवैले सहयोग गरेका छन् । तीन जना कर्मचारी निरन्तर र आवश्यकता अनुसार १५ जनासम्म राखिएको छ । यहाँको चिया नेदरलेण्ड,अमेरिका,फ्रान्स लगायतका पश्चिमी देशहरुमा बिक्री भइरहेको छ । यस संस्थामा विधुत आपूर्तिमा कठिनाई,वर्षौ भरी चल्न सक्ने सडकको अभावले सबै भन्दा धेरै यातायात सुविधा असहज बनेको छ । डिजेल प्लान्ट खर्चिलो बनेको साथै स्वस्थ खानेपानीको उचित व्यवस्थापन भएको छैन । व्यवस्थित भवनको पनि आवश्यक रहेको जनाइएको छ । विभिन्न किसिमका कर,प्रशासनिक झन्झट समेत खेपिरहनु परेको संस्थाको गुनासो छ । विविन्न समस्याका बाबजुद पनि ग्रामीण क्षेत्रमा स्थापना भएको यस चिया सहकारीले अन्तरष्ट्रिय अवार्ड जित्न सफल बनेकोमा अत्यन्तै हर्षित बनेको संस्थाका अध्यक्ष खनालले बताए ।-आजकोखबरको सहयोगमा तयार गरिएको हो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार