गाउँगाउँमा नागरिक आरोग्य अभियान,फाल्गुनन्दमा २७० जना अभिमुखीकरणमा सहभागी

  युद्धबहादुर बोहोरा
322 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका आयुर्वेद  तथा वैकल्पिक शाखाको आयोजनामा पालिका भित्र रहेका सबै वडामा नागरिक आरोग्य अभिमुखीकरण सम्पन्न भएको छ ।

सबै नागरिकको पहुँचमा आयुर्वेदिक सेवा पुर्याउनका लागि  कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख अधिकृत राजु पराजुलीले जानकारी दिए ।

“मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ १ नम्बर वडादेखि ७ नम्बर वडासम्म अभियान सम्पन्न साथै ७ वटै वडामा वडास्तरीय  र पालिका स्तरीय नागरिक आरोग्य समुह समेत गठन गरिएको छ । संघीय सरकारको तीन लाख रुपैंया शशर्त बजेटबाट संचालित कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक दुई जना,वरिष्ठ वैध दुई जना र एक जना डाकटरसहित पाँच जना प्रशिक्षकले प्रशिक्षण दिएको उनले बताए ।

आमनागरिकलाई शारीरिक मानसिक र आध्यात्मिक रूपमा स्वस्थ एवं सफल बनाउने लक्ष्यसंगै नसर्ने रोगहरूको प्रकोपलाई न्यूनीकरण गर्दै स्थानीय जडिबुटीको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र ब्यक्तित्व विकास गरी स्वस्थ्य समाज निर्माण गर्ने नागरिक आरोग्य कार्यक्रमको उद्देश्य रहेको छ ।
सहजीकरणमा योग किन? कति बेला र कसरी गर्ने?  र यस्को फाइदा साथै सरसफाइ,आयुर्वेदिक जीवनशैली,स्थानिय जडीबुटीको उपयोगिता,खानपान,योग,ध्यानलगायतको पनि जानकारी गराइएको छ । कार्यक्रममा,जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेवीका,संचारकर्मी,शिक्षक,संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको फाक्तेप आयुर्वेद औषधालयका प्रमुख राजकुमार श्रेष्ठले बताए  ।

यस पालिकामा दुई वटा आयुर्वेदिक औषधालय,एक सामुदायिक स्वास्थ्य ईकाइमा आयुर्वेद सेवा संचालन तथा चारवटा वडामा नागरिक आरोग्य क्लिनिक(गाउँघर क्लिनिक) संचालनमा रहेको छ ।

यस पालिकामा रहेका आयुर्वेदिक औषधालयबाट बिरामी जाँच सेवा,प्रथामिक उपचार सेवा,पंचकर्मको पूर्वकर्म स्नेहन/स्वेदन,प्रसुती महिलालाई दुग्ध वर्धक औषधी वितरण,जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम,विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम,स्वास्थ्य परामर्श तथा योग सेवा प्रदान गरिन्दै आएको छ । दुई वटा वडामा मात्रै आयुर्वेद स्वास्थ्य सेवा भएको यस पालिकामा चार जना मात्र स्वास्थ्यकर्मी रहेकोले सातै वडाका नागरिकलाई सेवा पुर्याउन र जनचेतनामुलक कार्यक्रम संचालन गर्न भने स्वास्थ्यकर्मीको आभाव रहेको जनाइएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वडामा नागरिक आरोग्य केन्द्र विस्तार गर्नुपर्ने व्यवस्था भएता पनि हालसम्म यस पालिकामा एउटै पनि आरोग्य केन्द्र स्थापना नहुँदा आयुर्वेद स्वास्थ्य सेवाबाट नागरिक वञ्चित रहेका छन् ।  स्थानीय सरकाले बेलैमा आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गर्ने हो भने आम नागरिकले सेवा लिने अवसर पाउने थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार