रोङ गाउँपालिकाले गुन्द्रुक उद्योग खोलेपछि कृषक हर्षित

  नयाँ बुलन्द  707 पटक हेरिएको

इलाम : इलामको रोङ गाउँपालिकाले गाउँबासीले घरघरै उत्पादन गरेको साग खरिद गरेर गुन्द्रुक उत्पादन अभियान सुरु गरेको छ ।

गुन्द्रुकको बजार अपार रहेको ठहर गर्दै त्यही अपार बजारमा आफ्नो उत्पादन पठाउने र त्यसबाट हुने आम्दानी किसानलाई फिर्ता दिने योजना अनुरुप गाउँपालिका लागिपरेको छ ।

न्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने लगायतका
बहुआयामिक फाइदा हुने देखेर गुन्द्रुक उत्पादन अभियान थालिएको गाउँपालिकाको भनाइ छ । जनता र स्थानीय सरकारबीच सहकार्य स्थापना रेर उत्पादनमा जोडिने लक्ष्यसहित सुरु भएको गुन्द्रुक उत्पादन अभियानले एक महिना पार नगर्दै गाउँका किसान उत्साहित देखिन्छन् । कहिले भाउ नपाएर सस्तोमा साग बेच्ने अनि कहिले नबिकेर चौपायालाई खोले पकाएर खुवाउने किसानको बाध्यता पनि धेरै मात्रामा अन्त्य भएको छ ।

‘अहिले त हामी दिनभरि साग टिपेर कतिबेला गाउँपालिकाको गाडी लिन आउँछ भनेर पर्खेर बस्छौं,’ रोङ गाउँपालिका-६ का भीम प्रधानले भने, ‘अहिले साग खेर जाला भन्ने चिन्ता छैन ।’ उनका अनुसार पछिल्लो एक महिनाभित्रमा उनले ५ सय केजी रायोको साग गाउँपालिकाले सञ्चालन गरेको गुन्द्रुक फ्याक्ट्रीलाई बेचिसकेका छन् । ‘पहिला जस्तो कसलाई बेचौं भन्ने चिन्ता यसपालि भएन’, प्रधानले भने, ‘कुन व्यापारीले कसलाई धेरै कसलाई थोरै दाम दियो भन्ने पनि भएन । राम्रो हुँदोरहेछ ।’ रोङ गाउँ हरियो सागसब्जी उत्पादनको उर्वर थलो हो । तर भौगोलिक विकटता र यातायातको सहज अवस्था नहुँदा कृषि उत्पादन सजिलै बजार पुग्न सक्दैन । यसको असर हिउँद-बर्खा दुबै सिजनमा देखिने गरेको छ ।

हिउँदमा यातायातका साधन चल्ने हुँदा व्यापारीहरू गाउँ त आइपुग्छन् तर ढुवानी खर्चका नाममा सस्तो खोज्छन् । आफैं बजार लिए जाँदा उत्तिकै खर्च हुने भएपछि किसान व्यापारीले भने अनुसारको भाउमा उत्पादन बेच्न राजी हुन्छन् । यसो गर्दा किसानको लागत नउठ्ने त छँदैछ, फाइदा जति व्यापारीले मात्रै पाउने अवस्था हुन्छ । बर्खाको सकस झन् धेरै छ । भर्खरै बन्दै गरेको बाटो बर्खामा हिलाम्ये हुन्छ । रातोमाटो सहितको सडक हिलोले भरिएपछि हम्मेसी ढुवानीका साधन चल्दैनन् । त्यसबेलाका उत्पादन सजिलै बजार पुग्दैनन् । इस्कुस र फर्सी त चौपायाकै लागि फलाए जत्तिकै हुन्छ ।

हिउँदमा हुने सागको अवस्था पनि त्यस्तै थियो । आफूले खाएर उभ्रिने साग थोरै मात्रै बजार पुग्थ्यो । भने जसरी दाम पाउनै मुस्किल थियो । गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान सुरु गरेपछि भने सबै गाउँलेले समान मूल्य पाएका छन् । उत्पादनपछि गाउँपालिकाले अनुदानको पनि प्रबन्ध गरेको छ । यसले सागमा गरेको मिहेनत खेर नगएको किसानको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थनमूल्य प्रतिके जी १० रुपैयाँ निर्धारण गरेको छ । साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ । ‘यसरी किसानले अब सागको मूल्य नै कम्तीमा प्रतिकेजी १६ रुपैयाँ पाउने स्थिति छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘गुन्द्रुकबाट हुने आम्दानीको हिस्सा कति पर्छ, त्यो बजार पठाउन थालेपछि थाहा हुनेछ । यसले पहिले पाउनेभन्दा किसानले धेरै मूल्य पाउने अवस्था छ ।’

रोङ- ५ की मेनुका राई रायोको साग प्रतिकेजी १६ रुपैयाँमा बिक्नु स्थानीयबासीका लागि फाइदाको कुरा भएको बताउँछिन् । ‘गाउँमा आइपुग्ने व्यापारीले झण्डै एक केजीको मुठा पार्न लगाएर प्रतिमुठा बढीमा आठ रुपैयाँसम्म दिन्थे,’ उनले भनिन् ‘अहिले त सुरुमा एक केजीको १० रुपैयाँ पाइन्छ । गाउँपालिकाले थप ६ रुपैयाँ अनुदान दिने भनेको छ । यसले पहिलेभन्दा फाइदा भएको छ ।’ गाउँपालिकाले स्थापना गरिदिएको ‘गुन्द्रुक फ्याक्ट्री’ यतिबेला किसानको साग खपत हुने ठाउँ मात्रै बनेको छैन, स्थानीयबासीका लागि कौतुहलको केन्द्र पनि बनेको छ । त्यसैले अचेल हरेक दिन बोरामा, झोलामा साग लिएर रोङ-३ को कोल्बुङस्थित गुन्द्रुक फ्याक्ट्रीसम्मआउनेहरूको लर्को लाग्ने गरेको छ । धेरै त रमिता हेर्न नै झुम्मिने गरेका छन् । आफैंले चुनेको स्थानीय सरकारले गाउँमा गुन्द्रुक फ्याक्ट्री खोल्ने योजना सुनाउँदा रोङका धेरै सर्वसाधारणले नाक खुम्च्याएका थिए । हरेक हिउँदमा घर-घरैमा सजिलै उत्पादन हुँदै आएको स्वादिलो र छरितो तरकारी गुन्द्रुकमा सरकार स्वयम् किन लाग्नुपर्यो ? बहुसंख्यक रोङबासीको प्रश्नै यही हुन्थ्यो । उनीहरू चाहन्थे, गाउँपालिकाले बरु अलि ठूलो कुनै उद्योग खोलोस्, रोजगारी दिलाओस् ।

गाउँपालिका भने पछि हट्ने अवस्थामा थिएन । वार्षिक नीति कार्यक्रम तथा बजेटमै ‘गुन्द्रुक सिन्कीको ब्रान्डिङ गरिनेछ’ भनिसकेको गाउँपालिका कुनै सहकारीमार्फत यो अभियान अघि बढाउने सोचिरहेको थियो । गाउँसभाबाट पारित योजना सकेसम्म छिटो कार्यान्वयनमा लैजान हुटहुटीमा थिए अध्यक्ष मनिकुमार स्याङ्बो । त्यसैले यो अभियान चलाउन तत्पर सहकारी संस्था खोजीमा थियो गाउँपालिका । त्यहीक्रममा अध्यक्ष स्याङ्बोले देवानछाप कृषि सहकारी संस्थालाई यो कार्यक्रम अघि बढाउन आग्रह गरे । सहकारीका सञ्चालकहरु सुरुमा हच्किए । ‘फ्याक्ट्री खोल्ने त्यो पनि गुन्द्रुकको भन्ने भाव धेरैमा पाइएको थियो,’ अध्यक्ष स्याङ्बोले सुनाए, ‘तर, हामी त्यही गुन्द्रुकलाई माध्यम बनाएर स्थानीय सरकार र जनताबीच सहकार्य गर्न चाहन्थ्यौं । त्यस्तो सहकार्य जसले स्थानीयबासीलाई उत्पादनको कामसँग जोडोस् । अहिले प्रारम्भिक रुपमा राम्रो
संकेत पाइएको छ । यसले आशा जगाउन थालेको छ ।’

उनकाअनुसार ग्रामीण अर्थतन्त्र बलियो बनाउन र उत्पादनपछिको सबै पैसा गाउँमै रहने एउटा उपयुक्त माध्यम गुन्द्रुक हुने ठहर गरेर यो कामको थालनी भएको हो । ‘अहिले हामीले गुन्द्रुक सिन्कीमा काम गरेका छौं । आउँदा वर्षहरुमा तरुलको अन्य तरकारीहरुको पनि आम्दानी निश्चित हुने योजना ल्याउनेछौं,’ उनले भने ‘यी सबै काममा
गाउँपालिकाले बलियो भरथेग गर्नेछ, नेतृत्व चाहिँ सहकारीमार्फत समुदायको हुनेछ । यसले हाम्रो पालिकाको अर्थतन्त्र मजबुत पार्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार