माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाल वडा नम्बर १ वडा कार्यालयले वडाबासीहरुका लागि कृषि सामग्री, उपकरण तथा उन्नत मकैको बिउ वितरण गरेको छ ।
शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा कार्यालयले टनेल २१ थान, स्प्रे ट्याङ्की १३ थान, च्यापकटर ३ थान र तिन सय साठी किलोग्राम उन्नत मकैको बिउ वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/०८० को कृषि विकास कार्यक्रम अन्तरगत विनियोजित चार लाख रुपैयाँबाट १३ वटा टोल विकास संस्थालगायत आवेदन दिने अगुवा कृषकलाई कृषि सामग्री, उपकरण तथा उन्नत मकैको बिउ वितरण गरिएको वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।
व्यावसायिक कृषि क्षेत्रमा लागेका कृषकहरुलाई प्रवर्द्धनका लागि आफ्नो वडाले कृषि सामग्री, उपकरण तथा उन्नत मकैको बिउ वितरण गरेको वडा अध्यक्ष योङहाङले बताए । कृषि सामग्री प्राप्त गरेपछि कृषकहरुले वडाले संचालन गरेको यस्तो कार्यक्रमले कृषकहरुलाई राहत पुगेको प्रतिक्रिया दिए ।
वडा अध्यक्ष योङहाङको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य डिकमाया ल्वागुन र संचालन कर्मचारी हिमाल खनालले गरेका थिए ।