स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै फाल्गुनन्द गाउँपालिका,कोल्बुङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

  युद्धबहादुर बोहोरा
343 Shares

पाँचथरः फाल्गुनन्द गाँउपालिकाको ५ नम्बर वडाको दक्षिणी क्षेत्र कोल्बुङमा सामुदायिक स्वास्थ्य इकाई सोमबार स्थापना गरिएको छ ।

वडाका नागरिकलाई स्वास्थ्य सेवामा सहज तरीकाले पहुँच पुर्याउने उदेश्यले स्थापना गरिएको स्वास्थ्य इकाईमा प्रसुती सेवा वाहेक स्वास्थ्य चौकीबाट पाइने सबै किसिमका सेवा उपलब्ध हुने जनाइएको छ । हाल यस इकाईमा हेल्थ असिस्टेन्ट कमल लावतीलाई इकाई प्रमुखको जिम्मेवारी दिइएको पालिका स्वास्थ्य शाखा सहायक फोकल पर्सन बालकृष्ण दाहालले जानकारी दिए ।

उक्त इकाइ संचालन गर्न २०७७ सालमै कार्यपालिकाले निर्णय गरिएको थियो । तर, विविध कारणले शुरुवात गर्न नसकिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक बताए । हाल स्वास्थ्य इकाई स्थापना गर्न स्थानीय समाजसेवी गंगा प्रसाद चेम्जोङले अर्को व्यवस्था नहुन्जेलसम्म उनको घरको दुई कोठा निःशुल्क प्रदान गरेका छन् । उनले आगामी दिनमा स्वास्थ्य इकाई निर्माणका लागि आवश्यक पर्ने जग्गा समेत निःशुल्क प्रदान गर्ने घोषणा गरेका छन् । समाजसेवी चेम्जोङको प्रशंसनीय कार्यको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङले उद्घाटन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य इकाईलाई आवश्यकता अनुसार थप व्यवस्थापन गरिने जनाएका छन् ।

यसअघि वडाको दक्षिणी क्षेत्रका नागरिकले डेढ घण्टा भन्दा टाढा धाएर घुर्बिसे पञ्चमीमा रहेको फाक्तेप स्वास्थ्य चौकीबाट सेवा लिन आउनु पर्ने वाध्यता थियो । पायक पर्दो ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय बासिन्दा हर्षित बनेको वडाध्यक्ष बिष्णु कुमार चम्जोङले समापनमा बताए । संचालन भएको स्वास्थ्य इकाई नजिकै जनकल्याण माध्यमिक विद्यालय रहेकोले विद्यार्थीलाई पनि सहज हुने भएको छ । साथै १ र ४  नम्बर वडाका पायक पर्ने नागरिकलेसमेत सेवा लिन सक्ने छन् ।

पालिका भित्र जम्मा ६ वटा स्वास्थ्य चौकी,एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र तीन वटा सामुदायिक स्वास्थ्य इकाई संचालन भएका थिए । तीन वर्ष पहिले संचालनमा आएको राँके सामुदायिक स्वास्थ्य इकाई भने अहिले बन्द रहेको छ ।

सबै स्वास्थ्य चौकी प्रसुती सेवासहितका भनिएता पनि एसबीए तालिम प्राप्त स्थायी नर्सको अभावका कारण प्रभावकारी प्रसुति सेवा नहुँदा सुत्केरी गराउँनलाई जिल्ला सदरमुकाम वा सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने वाध्यता रहेको छ । हाल यसै वडा अन्तर्गत घुर्विसे पञ्चमीमा पालिका स्तरीय पाँच शय्याको अस्पताल धमाधम निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार