चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ५ मा हुँदै

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्दैछ ।

गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाले गाउँकार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी गरेको छ ।

पहिलो कार्यक्रम अन्तगत सोमबार वडा नम्बर ५ स्थित आँपझोलामा सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ । वडा कार्यालयको प्राङ्गणमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । अन्य वडाहरुको पनि सम्बन्धित वडा कार्यालयमा संचालन हुनेछ । अन्य वडाहरुमा गरिने कार्यक्रमको मिति भने पछि तय हुने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले गर्नेछ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार