इलाम : प्रजातन्त्र दिवसको अवसरमा आइतबार प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार मन्च र गैर सरकारी संस्थाको आयोजनामा भएको कार्यक्रमकासहभागीहरुले प्रजातन्त्र र मानव अधिकारका विषयमा चिन्तन गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा प्रतिनीधिसभा सांसद महेश बस्नेतले लोकतन्त्रको अधिकारको उपयोग गरि प्रजातन्त्र मनाईरहेको बताए। उनले अझैपनि हाम्रो देश सामन्तवादको अन्त्य हुन नसकिरहेको अवस्थामा समाजवादतर्फको यात्रामा कठिन भएकाे बताउँदै हामीले प्राप्त गरेको संविधानमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार अबको समाज कतातिर जान्छ भन्ने कुरा निर्दिष्ट हुनु पर्ने तर्क गरे ।
जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले संविधानले कार्यव्यवन गर्न नसक्दा पछाडि परिरहेको बताए । उनले राजनीतिक दलहरूले आफनो स्वार्थ अनुरुप काम गरिरहेकोले विभिन्न क्षेत्रमा बाझिएका कानुनलाई परिवर्तन गरी अघि बढन जरूरी रहेको छ भन्दै मुलुक सञ्चालन गर्न बसेका प्रतिनिधिहरुले आफनो काम कर्तव्य र अधिकारको बारेमा दतचित्त भई नलागेसम्म देशको विकास हुन असम्भव रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले प्रजातन्त्रमा प्रश्न चिन्ह उठिरहेको बताउँदै प्रजातन्त्रको संरक्षण र सबलिकरण गर्न जरूरी रहेको तर्क गरे । उनले अहिलेका प्रजातन्त्रमा समावेसी लोकतन्त्र अभ्यासका रूपमा अगाडि बढेकोले परिपक्व बनाउँन सबै लाग्नु पर्नेमा जाेड दिए ।
राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सह सचिव देवेन्द्र सुवेदीले प्रजातन्त्रका प्राप्तिका लागि लडेका व्यक्तिहरुका योगदानको कदर गर्न सक्नु नै प्रजातन्त्रको सार्थक अभ्यास भएकाले हिजो भन्दा अव परिवर्तनको क्षेत्रमा लाग्न जरूरी भएकाे बताए ।
मानव अधिकारको संरक्षणमा बनेको कानुनबारे बोल्दै उच्च बार एसोसिएसनका अध्यक्ष तथा अधिवक्ता उत्तम पौडेलले इतिहासलाई हेर्ने हो भने हाल आएर मानव अधिकारको बढोत्तरी भएको बताए । उनले २००४ साल हुदै २००७, २०१५, २०३६, २०४६, २०६३ र तत्कालिन संविधान २०७२ सम्म आईपुग्दा मावन अधिकार, मौलिक अधिकार बढेर गएको तर्क गर्दै मानव अधिकार र प्रजातन्त्र एक अर्कामा परिपुरक भएको बताए ।
पौडेलले पछिल्लो समय अधिकार तल्लो तहसम्म पुग्न नसक्दा मानव अधिकारको सवालमा जनता निरासा छाएकाे तर्क गरे ।
वरिष्ठ अधिवक्ता जसबहादुर लुङगेलीले ७ सालमा आएको परिवर्तनलाई ठुलो परिवर्तन माने पनि संरचनागत कुराहरुमा परिवर्तन नआएको महशुस गरिरहेको बताए । उनले अझैपनि अर्थतन्त्रमा परिवर्तन नआएकाे बताउँदै तल्लो तहको संरचनामा केहि परिवर्तन नआएको कारण जनतामा निराशावादि छाएको तर्क गरे ।
अधिवक्पता लुङ्गेलीले पछिल्लो समय राजनीतिक दलले बनाएको चुनावी घोषणा एक साधनको रूपमा मात्र प्रयोग भई त्यसको प्रभावककारी कार्यान्वयन हुन नसक्नु एउटा प्रमुख समस्या रहेको उल्लेख गरे ।
दलित अधिकारकर्मी मनकुमार बराइलीेले दलित आन्दोलन सामाजिक आन्दोलनको जेठो आन्दोलन भएपनि दलित समुदायको मुद्धा बाहिर आउन समस्या भएको बताए । पछिल्लो समयमा दलित अधिकारको कार्यान्वयन जरुरी रहेको र त्यसतर्फ राज्यको ध्यान दिन जरुरि रहेको तर्क गरे ।
गैर सरकारी संस्था इलामका अध्यक्ष कमलप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिीति रहेको थियो । मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले स्वागत गरेको कार्यक्रम उर्मिला राईले सञ्चालन गरेकी थिइन् ।