व्यावसायिक बाख्रापालनमा पूर्व जनमुक्ति सेना

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ का पूर्णकुमार राई (दिपेन) तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले संचालन गरेको जनयुद्धकालका जनमुक्ति सेनाका लडाकू हुन् ।  कक्षा ७ मा पढ्दापढ्दै राई तत्कालीन राज्यव्यवस्था परिवर्तनका लागि भन्दै माओवादी जनयुद्धमा होमिए । केही भिडन्तका मोर्चाहरुमा समेत सामेल भए । विभिन्न भिडन्तको मोर्चामा सामेल भए ।

२०६२/०६३ जनआन्दोलनसँगै जनयुद्ध रोकियो । तत्कालीन सरकार र माओवादीबीच वृहत शान्ति सम्झौतापछि राईको आफ्नो जीवनको यात्रा पनि फनक्क मोडियो ।

सहकर्मीहरु तत्कालीन अस्थायी माओवादी शिविरमा बसे । धैरैले राज्यबाट सुविधा पाउने आशामा शिवरमै बसे । तर राईलाई भने शिविरमा बस्न मन लागेन । उनी शिविर त्यागेर पुर्ख्योली घर फाकफोकथुम फर्किए । गाउँघरमा रहेर त्यति साह्रै काम नगरेका राईको मन गाउँमा अडिएन । त्यसपछि उनी विदेश होमिए ।

२०६७ मा दुबई पुगेका राईको आम्दानी पनि राम्रै थियो । तर, सधैं विदेशमा पसिना बगाउनुभन्दा नेपालमै केही न केही व्यावसाय गरेर गुजारा गर्ने निधोका साथ पुर्ख्यौली गाउँ फाकफोकथुम वडा नम्बर ४ मा फर्किए । ६ वर्ष बिदेशी भूमिमा पसिना बगाएका राई २०७३ मा करिब १८ लाख लिएर नेपाल फर्किए ।

गाउँघर फर्किएपछि पनि उनलाई कुन व्यावसाय संचालन गर्ने भन्ने निर्णय गर्न त्यति सहज थिएन । लामो सोचविचारपछि आफ्नो पुर्ख्यौली गाउँघरमा नै ब्यावसायिक कृषि र पशुपालन गर्ने निधो गरे । त्यसपछि नजिकै वडा नम्बर ५ लुम्देस्थित फावाखोलाको डाँडाको यथावामा ५६ रोपनी जग्गा ६ लाख रुपैयाँमा खरिद गरे ।

अनि राईको व्यावसायिक कृषि र पशुपालनको यात्रा सुरु भयो । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा २०७५ सालमा ‘जुरीथुम्का बाख्रापालन’ नामक फार्म दर्ता गरेर व्यावसायिक बाख्रापलन व्यावसाय सुरु गरेका हुन् । वैदेशिक रोजगारीबाट जम्मा भएको १० लाख र बैंकबाट लिएको कर्जा १० लाख गरी २० लाख रुपैयाँको लगानीमा सुरु भएको राईको जुरीथुम्का बाख्रापालन फार्म रहरलाग्दो छ ।

उनको ‍जुरीथुम्का बाख्रापालन फार्ममा अहिले साना ठूला गरी तीन सय बाख्रा छन् । राईले बाख्रापालनसँगै अन्य व्यावसाय पनि संचालन गरिरहेका छन् । उनको फार्ममा बाख्रासँगै पशुतर्फगाई र राँगा एवम् कृषितर्फ अलैँची, केरा, कफि, मेवा, लसुन, कागती खेती विस्तार भएको छ ।

राईले गाउँमै व्यवसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिररहेका छन् । वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेका छन् । फुङ्ग धुलो उड्ने सुख्खा डाँडो अहिले हरियाली भएको छ । बाख्रापालनबाट संकलन भएको मलबाट डाँडामा फलफुल, तरकारी खेती र अलैंचीका बोटहरुले हराभरा भएका छन् । उनको मेहनतबाट स्थानीय कृषकहरु समेत उत्साहित छन् ।

राईले आफ्नो नामको ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि सात सय रोपनी जग्गा लिजमा समेत लिएका छन् । उनले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवाहरुलाई गाउँघरमै कुनै न कुनै व्यावसाय गरेर आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गरेका छन् ।

राईको फार्मले प्रोत्साहनस्वरुप २ वर्ष अघि प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रम अन्तरगत १० लाख रुपैयाँ अनुदान समेत पाएको छ । सो अनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेका छन् । बीउ बोका, माउ बाख्रा, खसी, बोका एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेको छ ।

पैसा कमाउन विदैन नै गईराख्नु पर्दै भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान सुरु गरेको राई बताउँछन् । ‘बेरोजगार युवाहरु विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भएपनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ’ राई भन्छन्, ‘बैंकको कर्जा बिस्तारै तिरिसक्न लागेँ । कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु ।’

यता फाकफोथुम गाउँपालिकाले पनि व्यवसायिक कृषि र पशुपालनमा लागेका व्यवसायीहरुलाई विभिन्न प्रवर्द्धनात्मक कार्यक्रममा सहयोग गर्ने नीति रहेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार