इलाम : सडक सुविधा राम्रो भएको क्षेत्रका किसानले रायो साग बेचेर राम्रो कमाई गर्छन् । सडक सुविधा नभएका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको रायो सागले बजार नपाउँदा गाईवस्तुलाई खुवाउने गर्छन् । तर, इलामको रोङ गाउँपालिकाले भने त्यसरी खेर जाने रायो सागको गुन्द्रुक उत्पादनलाई ब्राण्डिङ गर्न थालेको छ ।
गाउँपालिकाले सार्वजनिक नीजि साझेदारीमा पहिलोपटक गुन्द्रुक उत्पादन र ब्रान्डिङलाई अगाडि बढाएको हो । साग उत्पादक किसान र स्थानीय एक साना कृषि सहकारी संस्थासँगको साझेदारीमा गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान थालेको हो ।
गाउँपालिकामा अत्यधिक मात्रामा उत्पादन हुने रायो सागबाट गुन्द्रुक उत्पादन र प्रशोधनको काम भईरहेको छ । प्रशोधित गुन्द्रुकलाई रोङ गाउँपालिकाले आफ्नै ब्रान्ड निर्माण गर्ने तयारी गरेको छ । खेर गईरहेको रायो सागको उपयोग गरी उत्पादन र बजारीकरण गर्न गुन्द्रुक बनाएर देशभरका मुख्य बजारमा पठाउने गाउँपालिकाको तयारी छ ।
‘गुन्द्रुकमा पालिका आत्मनिर्भर बनाउने मात्रै होइन, देशभरका मुख्यमुख्य शहरका होटल र रेष्टुरेन्टमा निर्यात गर्ने लक्ष्य लिइएको छ’ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) ले भने, ‘उत्पादित तरकारी खेर नजाने नीति अनुसार किसानलाई हौसला प्रदान गरी अर्थतन्त्र सुधार गर्ने योजनाका साथ गुन्द्रुकको ब्रान्डिङ गर्न थालिएको हो ।’
गाउँपालिकाले स्थानीय उत्पादनलाई बढावा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्याउन गुन्द्रुक प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । आफैंले उत्पादन गरेको सागको गाउँमा नै प्रशोधन हुन थालेपछि किसानले राम्रो मुल्य पाउने अपेक्षा गरेका छन् । त्यसका लागि गाउँपालिकाले अगुवा किसानहरू र स्थानीय सहकारीसँग समन्वय र साझेदारी गरेको छ ।
देवानछाप साना किसान कृषि सहकारी संस्थाले कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारी संस्थाले बजारमा खपत नभएको सागलाई व्यवस्थापन गर्दै गुन्द्रुक तयार गर्दै आएको छ । किसानहरुबाट साग संकलन गरी गुन्द्रुक प्रशोधन र लेबलिङका लागि एक जना प्राविधिक नियुक्त गरी प्रशोधन हुँदै आएको छ । साग उद्योगमा ल्याएको करिव १२ दिनमा गुन्द्रुक तयारी हुने गरेको उद्योगमा कार्यरत खाध्य प्राविधिक दिक्षा भट्टराईले जानकारी दिइन् ।
गाउँपालिकाले स्थानीय उत्पादन, रोजगारको वृद्धि र आर्थिक समुन्नतीको लक्ष राखेर गुन्द्रुक उत्पादन, ब्रान्डिङ र बिक्रीको तयारी गरेको हो । प्रतिकिलोग्राम गुन्द्रकमा गाउँपालिकाले ८० रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएको छ । उत्पादित साग सहकारी संस्थामार्फत बजारसम्म पुग्नेछ । गुन्द्रुकको मुल्य निर्धारण, प्याकेजीङ्ग, ब्रान्डिङलगायतको काम भने बाँकी नै छ । सरोकारवालाहरुसँग छलफल गरी मुल्य निर्धारण, प्याकेजीङ्ग, ब्रान्डिङ गरेर बजारमा पठाइने गाउँपालिका अध्यक्ष स्याङ्बो बताए ।
‘यहाँका किसानले उत्पादन गरेको सागबाट गुन्द्रुक उत्पादन गर्नेदेखि उपभोक्तासम्म पुर्याउने समग्र व्यावसायिक योजना निर्माण गर्ने योजनाका साथ अगाडी बढिरहेका छौं’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘यसका लागि गुन्द्रुकमा पिएचडी गरेका डा. टीकाबहादुर कार्कीले सहयोग गर्नेछन् ।’
चालू आर्थिक वर्षका लागि स्वीस सरकारको सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमको ३४ लाख ४५ हजार, देवनछाप साना किसान कृषि सहकारी संस्थाको १५ लाख ८० हजार र रोङ गाउँपालिकाको १७ लाख ६० लाख हजार गरी ६७ लाख ८५ हजार रुपैयाँको लागतमा कार्यक्रम सुरु गरिएको हो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिताअनुसार रोङ गाउँपालिकाको जनसंख्या १७ हजार पाँच सय ५५ रहेको छ । जसमध्ये ९५ प्रतिशतभन्दा बढी जनसंख्या व्यावसायिक कृषि पेशामा संलग्न रहेको गाउँपालिकाले जनाएको छ ।