इलाम : हेप्पि ड्रिम्स प्रालिले सरकारी जमिन हडपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हडपेको जमिन खालि गराउन निर्देशन दिएको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।
इलामको माई नगरपालिकामा सरकारी बनको जमिन हडपेर फनपार्क चलाउँदै आएको हेप्पि ड्रिम्स प्रालिको जग्गा खाली गर्न र सो जमिन राष्ट्रिय वनमा समावेश गर्न भन्दै जिल्ला प्रशासन कार्यालय इलाम, माई नगरपालिका र डिभिजन वन कार्यालयलाई अख्तियारले पत्र काटेपनि सो कार्यान्वयन हुन नसकेको हो ।
इलामको माई नगरपालिका वडा नम्बर–२ स्थित चेप्टिमा स्थानीय सरस्वती सामुदायिक बनको ४५ रोपनी सरकारी जमिन हडपेर फनपार्क चलाउँदै आएको हेप्पि डिम्स प्रालिलाई हडपेको जमिन खालि गर्न अख्तियारले निर्देशन दिएको हो ।
दुई सय १८ रोपनी क्षेत्रमा फैलिएको फनपार्कमा प्रालिको नाममा ४१ रोपनी मात्र जमिन छ । त्यसमा ४५ रोपनी सामुदायिक बनको र बाँकी एक सय ३२ रोपनी जमिन ऐलानी जमिन रहेको छ । ४५ रोपनी सामुदायिक बनको जमिन जग्गामा बिभिन्न प्रक्रिया पुर्याएर लिजमा लिने दाउमा प्रालि रहेको बुझीएको छ । बिभिन्न सञ्चार माध्यमले चुरे क्षेत्रमा रहेको सरकारी बनको जग्गा हडपेर फनपार्क चलाउने गिरोहको कर्तुत सार्वजनिक गरेसँगै सो कुरा बाहिर आएको हो ।
जिल्ला प्रशासन कार्यालय इलाम, डिभिजन बन कार्यालय र माई नगरपालिकालाई अखितयारले पत्र नै काटेर फनपार्कले हडपेको सरकारी जमिन तुरुन्त खालि गराउन निर्देशन दिएपनि सो कार्यान्वयन हुन नसक्नु दुखद भएको स्थानियको भनाई छ ।
डिभिजन बन कार्यालय इलामले पटक पटक बैठक राखे पनि माई नगरपालिकाका मेयर नआएपछि कार्यान्वयन हुन नसकेको बन कार्यालयका सुचना अधिकारी गजेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार तीन पटक बैठक राखिएको भएपनि पहिलो बैठकमा मेयर खम्बासिंह लिम्बु आएपनि त्यसपछिका बैठकमा अनुपस्थित रहेपछि अख्तियारको निर्देशन कार्यान्वयन गराउन नसकिएको बताइएको छ । पहिलो बैठकले दोस्रो बैठकमा निर्णय गर्ने भनिएपनि दोस्रो बैठक नै बस्न नसकेको बताइएको छ ।
माई नगरपालिका बडा नम्बर २ का तात्कालिन वडाध्यक्ष तथा हालका मेयर खम्बासिंह लिम्बुको समेत योजना र गोप्य लगानीमा फनपार्क संचालन हुँदै बुझीएको छ ।
मेयर लिम्बूकै अनुपस्थितीका कारण निर्देशन कार्यान्वयन गर्न समस्या भएको डिभिजन बन कार्यालय इलामको भनाई छ । तर, आगामी बैठकमा मेयर लिम्बु उपस्थित नभए प्रकृया अघि बढाएर जमिन खालि गराइने पनि कार्यालयले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले निर्णय कार्यान्वयन गराउन आफु लागि पर्ने बताएका छन उनले आफु भर्खरै इलाममा सरुवा भएर आएको सबै कुरा बुझेर अख्तियारको निर्णय कार्यान्वयन गराउन आफु अघि बढ्ने बताए ।
झापा सुरुङ्गाका दिनेश शिवाकोटीले सन्चालन गरेको फनपार्कले सरकारी जमिन हडपेको, सखुवाको रुख काटेको साथै दाहसंस्कार गर्ने घाट समेत हडपेको यस अघि नै बिभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भइसकेको छ ।
तर, उक्त पार्क संचालक समुहले सरस्वती सामुदायिक बन समिति गठन गरी त्यसको बिधान दर्ता गर्न प्रकृया अघि बढाएको बुझिएको छ । बिधान दर्तापश्चात सामुदायिक बनको कार्यायोजनामा हडपेको उक्त जमिन लिजमा लगाउने निर्णय पास गराएर जग्गा खाली नगर्ने योजना बनाएको स्रोतको भनाई छ । यसका लागि मेयर र शिवाकोटीले काम अगाडी बढाएको बुझीएको छ ।
अख्तियारले जमिन खालि गराउन निर्देशन दिएको छ महिना पुरा भएर सात महिना भएपनि निर्वाद रुपमा पार्क संचालन भइरहेको छ । संबैधानिक निकायको निर्देशन कार्यान्वयन गराउन तत्काल सम्वन्धित पक्ष लाग्नु पर्ने देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जग्गा खाली गराउनेबारेको साउन १० को निर्णय र साउन २० मा आएको पत्र हो । सो निर्देशन नै कार्यान्वयन नहुनु दुखद रहेको बताइएको छ । बिचमा बिभिन्न चाडपर्व, निर्वाचन र बिभिन्न कुराले निर्णय कार्यान्वयन गराउन कठिन भएको बताइएको छ । अब तत्काल निर्णय कार्यान्वयन गराउने बताइएको छ ।यता मेयर खम्वासिंह लिम्बूले छलफल भएको र छलफलमा स्थलगत अनुमगन गरेर मात्र निर्णय लिने सहमती भएको बताए । उनले सो फन पार्कलाई नगरपालिकाले नै संरक्षण गर्ने बैठकमा छलफल भए पनि निर्णय हुन बाँकी रहेको बताए ।