पाँचथरः संघ,प्रदेश,जिल्ला र स्थानीयतह गरी जम्मा चार तहमा नेपाल बुद्धिचाल संघको गठन हुन गइरहेको छ ।
राष्ट्रिय खेलकुद परिषदमा विधिवत दर्ता भएको नेपाल बुद्धिचाल (चेस) खेलको विकास र विस्तारको लागि सबै तहसम्म सबै पक्षलाई समेटेर समिति गठन गर्न लागेको हो । संघको केन्द्रीय निर्णय अनुसार केन्द्रीय साधारणसभा सफल बनाउन सबैलाई आव्हान गरेसंगै हाल पालिकातहको समिति गठन फागुन ६ गतेसम्ममा सम्पन्न गरी फागुनको पहिलो हप्तामा जिल्ला अधिवेशन गर्ने तालिका रहेको पाँचथर बुद्धिचाल संघ जिल्ला संयोजक बिजयबोध लावतीले जानकारी दिए ।
स्थानीयतह स्तरीय समिति निर्माण गर्न नेपाल बुद्धिचाल महासघंले देशभरिका ५५ जिल्ला र ७ वटै प्रदेशसघंको छरितो तदर्थ समिति बनाउन निर्देशन गरेको छ । फागुन १२ सम्ममा प्रदेशसघंको साधारणसभा तथा निर्वाचन पुरा गर्ने गरी जिम्मेवारी दिइसकेको जनाइएको छ ।
ग्रामीण क्षेत्रबाटै चेसखेलमा आवद्ध हुँदै नेपाली चेसखेललाई संस्थागत रुपमा सुदृढ बनाउने र सबै ठाउँमा सक्षम,योग्य ,चेसप्रेमीहरुको नेत्तृत्व स्थापित गर्दै दीर्घकालीन चेसको विकास गर्ने संघले उदेश्यले राखेको छ ।
यसैबीच,मंगलबार पाँचथरको फाल्गुनन्दमा पनि ६ सदस्यीय फाल्गुनन्द बुद्धिचाल संघ गठन गरिएको छ । नवनिर्वाचित समितिको अध्यक्षमा ध्रुब कुमार चेम्जोङ चयन भएका छन् । चेम्जोङ पूर्व शिक्षक तथा श्रोत व्यक्ति हुन् ।
उपाध्यक्षमा उदिप चेम्जोङ,सचिव होमनाथ पोखरेल र कोषाध्यक्षमा कमला तुम्रोक रहेकी छिन् भने सदस्यमा माक्सेम नेम्वाङ र राजन आङ्देम्बे छन् । जिल्ला प्रतिनिधिमा भगीरथ चेम्जोङ,प्रशान्तदास चेम्जोङ र कमला तुम्रोकलाई चुनिएको छ । आठ स्थानीयतह रहेको पाँचथरमा मिक्लाजुङ,कुम्मायक र फाल्गुनन्द गाउँपालिकाको गठन सकिएको छ भने अन्य पालिकामा धमाधम हुँदै गरेको संयोजक लावतीले बताए ।
नेपालमा चेस विकास र खेलाडीको स्तरोन्नतीका लागि जिल्लाको प्रतिनिधित्व गर्दै चुनावमा सहभागी हुनको लागि आ-आफ्नो स्थानबाट पहल गर्न र सही व्यक्ति छनौट गर्न सम्पूर्ण खेलप्रेमी र खेलाडीहरू समक्ष केन्द्रीय समितिले अनुरोध गरेको छ ।