घुर्बिसे पञ्चमी माविका स्व.विद्यार्थी डाइमनको स्मृतिमा परिवारद्वारा अक्षयकोष स्थापना

  युद्धबहादुर बोहोरा
1.8k Shares

पाँचथरः घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयका स्वर्गीय विद्यार्थी डाइमन चेम्जोङको स्मृतिमा परिवारले ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त अक्षयकोषको रकम मंगलबार स्व. विद्यार्थीका बुबा खेम प्रसाद चेम्जोङले विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् ।

फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडा निवासी खेम प्रसाद चेम्जोङ र विष्णुमाया तुम्वापोका सुपुत्र स्व.चेम्जोङ २०६५  साल साउन ९ गते जन्मेका थिए । रक्त क्यानसरबाट ग्रसित ९ कक्षामा अध्ययनरत यस विद्यालयका छात्र चेम्जोङको १४ वर्षको उमेरमा २०७९  पुस २२ गते निधन भएको थियो । त्यसपछि परिवारले उनको स्मृतिमा  उनले अध्ययन गरेको विद्यालय र उनी आवद्ध फाक्तेप युथ क्लब (पीवाईसी)  लाई ५०-५० हजार गरी जम्मा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको जनाइएको छ ।

 

विद्यालयमा स्थापना गरेको अक्षयकोषको बार्षिक व्याजबाट १ देखि ५ कक्षा,६ देखि ८ कक्षा र ९ देखि १२ कक्षासम्मका तीन तहका अक्षर राम्रो लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिने मापदण्ड राखिएको छ ।

यसअघि विद्यालयकी भुतपूर्व शिक्षिका पदमा देवी थपलिया (बोहोरा) ले आफ्ना स्वर्गीय बुबाआमा रत्न बहादुर र लक्ष्मीमाया थपलियाको नाममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् ।

यसैगरी,यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लगन बिक्रम चेम्जोङले आफ्नी स्वर्गीय श्रीमती आसमाया कुरुम्बाङको नाममा २३ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । त्यस्तै, यस विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्व.टीकाचन्द्र चेम्जोङको स्मृतिमा पनि परिवारले ५० हजार रुपैंयाँको अक्षयकोष स्थापना गरेका छन् । हाल सम्म यस विद्यालयमा दुईलाख २३ हजार बराबरको चार वटा अक्षयकोष स्थापना भएका छन् ।

पाँचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो बनेको यस विद्यालयले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरणको कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम विव्यस अध्यक्ष लगन बिक्रम चेम्जोङको प्रमुख आतिथ्यता तथा प्रधानध्यपक नरेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालक शिक्षक नवीन आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार