फागुन १ गते ‘जनयुद्ध दिवस’ मा सरकारी बिदा दिनुको औचित्य

काठमाडौं : सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । केही दिनअघि बागमती र कर्णाली प्रदेशले ‘जनयुद्ध दिवस’ भन्दै फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेका थिए । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बिदाको संख्या धेरै भएकोले घटाउने तयारी गरिएको जनाएका थिए ।

उनले एउटै प्रकृतिका राजनीतिक पर्वमा छुट्टाछुट्टै बिदा दिएर धेरै दिन खेर फाल्नुभन्दा यस्ता राजनीतिक पर्वहरूलाई गाभेर वर्षको एक दिन मात्रै बिदा दिनु उचित हुने बताएका थिए । तर प्रधानमन्त्री प्रचण्डको भनाइ र व्यवहार ठीक उल्टो भयो ।

अर्को कुरा फागुन १ भनेको फगत माओवादी पार्टीको मात्रै पर्व हो, राष्ट्रिय पर्व होइन । संसद्वादी पार्टीहरूका लागि फागुन १ भनेको प्रतिक्रान्तिको प्रयास सुरु गरिएको दिन हो । फागुन १ गते किन सार्वजनिक बिदाको घोषणा गरियो ? भन्ने प्रश्न जनस्तरबाट उठिसकेको छ । यसको उत्तर निर्णयमा संलग्न मन्त्रीहरूका पार्टी एमाले र राप्रपाले पनि दिनुपर्छ ।

पञ्चायती व्यवस्था हु“दा राजाकी आमा, राजाका बाबु बाजेको जन्मदिनमा पनि सार्वजनिक बिदा दिने चलन थियो, तर जनताले प्रश्न उठाउ“दैनथे । यस्ता बिदाको औचित्यबारे पनि शासकले जवाफ दिइरहन पर्दैनथ्यो । तर, लोकतन्त्रमा सरकारले आफ्ना हरेक निर्णयको औचित्य पुष्टि गर्नुपर्ने हुन्छ । के फागुन १ गते भनेको सरकारी बिदा दिनै पर्ने प्रकृतिको पर्व हो त ?

निर्णय प्रक्रियामा सामेल भएका नाताले एमाले र राप्रपाले पनि यो प्रश्नको उत्तर दिनुपर्छ । संसदीय व्यवस्थालाई ध्वस्त गर्दै जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणाका साथ माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन हो फागुन १ भनेको । तर, नेपाल अहिले पनि संसदीय व्यवस्थामै छ ।

जनवादी राज्य सत्ता स्थापना भएको पनि छैन । अनि माओवादीबाहेक अरूका लागि किन लादियो त फागुन १ को बिदा ? पछिल्ला दिनमा माओवादीले फागुन १ लाई गणतन्त्र स्थापनाका लागि आरम्भ गरिएको संघर्षको दिन भन्ने गरेको छ । माओवादीको यो तर्क केही हदसम्म सत्य पनि हो । गणतन्त्र स्थापनामा माओवादी लडाकुको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन ।

तर, गणतन्त्रको फैसला १९ दिनसम्म चलेको जनआन्दोलन ०६२–६३ ले गरेको हो । फागुन १ लाई गणतान्त्रिक क्रान्तिको प्रस्थान विन्दु मान्ने हो भने पनि सार्वजनिक बिदाको औचित्य पुष्टि गर्न सकिन्न । किनकी क्रान्तिको प्रस्थान विन्दुभन्दा पनि क्रान्तिले उपलव्धी हासिल गरेको दिन महत्वपूर्ण हुन्छ ।

उदाहरणका लागि नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनाका लागि २००७ साल कात्तिक २१ गते सशस्त्र क्रान्ति आरम्भ गरेको थियो । फागुन ७ गते क्रान्तिले उपलव्धी हासिल गर्यो । तर, नेपाली कांग्रेसले कहिल्यै पनि फागुन ७ भन्दा कात्तिक २१ महत्वपूर्ण राष्ट्रिय पर्व हो भनेको छैन ।

त्यस यता नेपाली कांग्रेसले करिव ११ वटा सरकारको नेतृत्व गरिसकेको छ, तर कहिल्यै पनि कात्तिक २१ गते राष्ट्रिय पर्वका रूपमा मनाएको छैन । जसरी कांग्रेसले आन्तरिक रूपमा कात्तिक २१ मनाउ“दै आएको छ त्यसरी नै माओवादीले फागुन १ लाई आन्तरिक रूपमा मात्रै मनाउनुपथ्र्यो ।

यसरी सत्ताको दुरुपयोग गर्न मिल्दैन । माओवादीले गरेको सत्ताको दुरुपयोगमा सहभागी बन्नु एमाले र राप्रपाको ठूलो कमजोरी हो । त्यसमा पनि राप्रपाले त आफूलाई गणतन्त्र विरोधी भनेर भोट माग्दै आएको छ । पृथ्वीजयन्तीमा बिदा दिन माओवादी सहमत भए वापत ‘जनयुद्ध दिवस’ का दिन बिदा दिन आफू सहमत भएको तर्क राप्रपाले गरेको छ ।

यसलाई तर्क भन्ने कि कुतर्क ? तर राप्रपाको हकमा एउटा सत्य कुरा के हो भने राप्रपा भनेको राजावादी पार्टी हो । ०५२ फागुन १ गतेदेखि संसदीय व्यवस्थाको विरुद्ध माओवादीले बन्दुक उठाएर सुरक्षाकर्मी तथा जनआन्दोलन ०४६ मा सहभागी हुनेहरूलाई मार्दै गर्दा राजावादीहरूले किनारामा बसेर ताली पड्काउँदै खुसियाली मनाएका थिए ।

त्यसैले यतिबेला फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयमा राप्रपाका मन्त्रीहरू सहभागी हुनुलाई आश्चर्य मान्न पनि हुँदैन । किनकी जनआन्दोलन ०४६ सालका उपलव्धी समाप्त पार्ने मामिलामा माओवादी र राजावादीको सहकार्य भएको यथार्थता ‘ओपन सेक्रेट’ जस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार