पाँचथरः फाल्गुनन्द गाउँपालिकामा पाँचौ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा ८ स्वर्ण पदक विजेता आयोजक जयनारायण आदर्श माद्यमिक विद्यालय मेहेलबेटेले पहिलो उपाधि हात पार्दै नगद १० हजार रुपैंयाँ,शिल्ड र ट्रफी प्राप्त गरेको छ । ६ स्वर्ण पदकसहित उविजेता बनेको घुर्बिसे पञ्चमी माद्यमिक विदयालयले नगद ८ हजार रुपैयाँ र ट्रफी पाएको छ भने जनकल्याण माद्यमिक विद्यालय कोल्बुङले ४ स्वर्ण पदक जितेर नगद ७ हजार रुपैंयाँ र ट्रफी प्राप्त गर्दै तेस्रो स्थान हाँसिल गरेको छ ।
आयोजक जयनारायण आदर्श माद्यमिक विद्यालयले आफ्नो खेल मैदानको अभावमा ६ नम्बर वडाको खेलमैदान प्रयोग गर्दै माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता संचालन गरेको थियो । खेलमा १६ विधाका २८ खेल खेलाइएको आयोजक विद्यालयका प्रधानध्यापक प्रकाश आचार्यले जानकारी दिए । पालिका भित्र रहेका ११ वटा सामुदायिक र दुईवटा संस्थागत विद्यालय गरी जम्मा १३ वटा माद्यमिक विद्यालय मध्ये १० वटा सामुदायिक विद्यालयको मात्रै सहभागीता रहेको जनाइएको छ । ३७२ जना छात्रछात्राले प्रतियोहितामा भाग लिएको खेलमा आयोजक विद्यालयका उज्जवल रिजाल उद्घाटनको दिन कबडी खेलमा घाइते भएका थिए । उनलाई उपचारमा पठाएइको साथै खेलाडी रिजालको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ भने अन्य प्रतियोगिता शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रम संचालक शिक्षक केशव गड्तौलाले बताए ।
यसअघि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना क्रमशः घुर्बिसे पञ्चमी मावि,सिद्धदेवी मावि नवमिडाँडा,जनकल्याण मावि कोल्बुङ र सत्यहाङमा मावि इम्बुङले गरेका थिए । उक्त पहिलो प्रतियोगितामा घुर्बिसे पञ्चमी माविले पहिलो उपाधि हात पारेको थियो भने दोस्रो,तेस्रो र चौथो प्रतियोगितामा लगातार तीन पटक सिद्धदेवी मावि नवमिडाँडाले पहिलो उपाधि जितेको पालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम राईले जानकारी दिए । खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम हुने विश्वासले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । राष्ट्र निर्माण र विकासमा खेलाडीहरूको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय,प्रदेश र संघ स्तरीय विभिन्न खेलकुद प्रतियोगिता अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्न राज्यको लगानीबाट देशभर राष्ट्रपति रनिङ शिल्ड संचालन भएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बेको अध्यक्षतामा समापन भएको प्रतियोगितामा प्रमुख अतिथि फाल्गुनन्द पालिकाका अध्यक्ष बृजहाङ् आम्देम्बे,विशेष अतिथि उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले खेलाडीलाई पुरस्कार प्रदान गर्दै बधाई दिएका थिए ।
प्रतियोगिताको माध्यमबाट कुनाकन्दरामा रहेका प्रतिभाको उजागर हुने भएकाले विद्यार्थीको खेलको भावनालाई कुण्ठित नगर्न र सबै विद्यालय सहभागी हुन उनीहरुले आग्रह गरेका छन् । साथै आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित बनाउने,जोखिम खेललाई हटाउँदै जाने र यस खेलमा घाइते खेलाडी रिजालको उपचार खर्च पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
२००५ सालमा स्थापना भएको जिल्लाकै जेठो विद्यालय भनेर चिनिएको आयोजक यस विद्यालयमा २०६८ सालदेखि प्राविधिक धारको विषय सिभिल सव-ओभरसियर अन्तरर्गत सिटीईभिटी कक्षा संचालन हुँदै आएको छ । हाल यस विद्यालयमा ४६० जना विद्यार्थी र ३१ जना शिक्षक तथा कर्मचारी स्टाफ रहेका छन् ।
जिल्लाको दक्षिणी भेगमा संचालित यो शिक्षण संस्थामा प्राविधिक धारको विषय अध्यापन गर्न थालिएपछि छिमेकी जिल्ला झापा,इलाम,ताप्लेजुङ र आसपासका अन्य स्थानीयतहका विद्यार्थीको आकर्षण बढेको छ ।
विद्यालय परिसरमा २० रोपनी जमीन,बाहिर ६५ रोपनी गरी जम्मा ८५ रोपनी विद्यालयको मातहतमा भएता पनि विद्यालयको आधुनिक भवनको अभाव रहेको छ । विद्यालय क्षेत्र वरिपरि घेराबारा गरिएको छैन,व्यवस्थित खानेपानी र शौचालयको अवस्था नाजुक रहेको साथै आफ्नै खेल मैदान नभएको जनाइएको छ ।