इलाम : इलामको उत्तरी सन्दकपूर गाउँपालिकाको विकासका लागि राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । सन्दकपूर गाउँपालिकाको १२ गाउँसभाको उद्घाटन तथा पालिकाको पूर्वाधार विकास र जनताको जनजिविका बिषयमा आयोजित कार्यक्रममा राजनीतिक दल, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सन्दकपूर विकासमा आफु गाउँपालिकासँग सँगसँगै अघि बढ्ने बताए । इलाम नगरपालिका प्रमुख भएर काम गर्दापनि माइपोखरी रामसार क्षेत्रमा त्रिधार्मिक पूर्वाधार निर्माणको कामको थालनी भइ डिपिआर समेत बनेकाले आफु निरन्तर सन्दकपूरको विकासमा क्रियासिल हुने बताए । उनले भने–‘विकास निरन्तर हुने काम भएकाले आफुले जनताका आवश्यकताका आधारमा छनौट भएका योजनाहरु कार्यान्वयनमा सहयोग गर्नेछु ।’
कार्यक्रमकी बिषेश अतिथि प्रदेश सासंद तथा प्रदेश १ को पूर्व पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले सन्दकपूर पर्यटकीय, धार्मिक, सास्कृतिक र जैविक विविधताका दृश्टिले उत्कृष्ट गन्तव्य भएकाले कृषिमा व्यवसायीकरण गरि पर्यटन विकासमा सहयोग गर्ने बताइन् । सन्दकपूरको पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक क्षेत्रमा प्रदेश सरकारको धेरै योजना कार्यान्वयन हुँदै आएकाले आगामि दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सह–सचिव देबेन्द्र सुवेदीले सन्दकपूर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको कामको समिक्षा गर्ने समय नभएको बताए । नयाँ जनप्रतिनिधिहरुको कामको गति मुल्याङ्कन गर्न यो आर्थिक वर्ष कुर्नुपर्ने सुवेदीले बताए ।
सन्दकपूर गाउँपालिकाको १२ गाउँसभाको उद्घाटन तथा पालिकाको पूर्वाधार विकास र जनताको जनजिविका बिषयमा आयोजित कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै प्रमुख प्रशासकिय अधिकृत महेश राईले संविधानमा व्यवस्था भएको तीन तहको सरकार समन्वय मार्फत मात्रै दिगो विकास हुने भएकाले तीन तहका सरकारका प्रतिनिधिको उपस्थितिमा विकासको खाका कोर्न अन्तरक्रिया गरिएको बताए ।
संघ, प्रदेश र स्थानीय तह मिलेर मात्रै सन्दकपूरको समग्र विकास हुने भएकाले छलफल र अन्तरक्रिया निरन्तर आयोजना गरिने राईले बताए । सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले आफ्नो कार्याकालमा सबै पार्टीहरु एक भएर र सँगै सबै पार्टीसँग सहकार्य गरि अघि बढ्ने बताए । पार्टीको नेता भएपनि सत्ताको नेतृत्वमा पुगेपछि सबैलाई समान व्यावहार गर्ने र विकास निर्माणका गतिविधिमा सबैँ पार्टीलाई सहभागि गराइ काम गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै सन्दकपूर गाउँपालिका निर्वतमान अध्यक्ष उदय राईले सन्दकपूर पालिका भित्रका हरेक विकास निर्माणमा आफु सहकार्य गर्न तयार रहेको बताए । सबै पार्टीका कार्यकर्ता र नेताहरु एक भएमा मात्रै सन्दकपूर गाउँपालिकाको विकासको खाका कोरिने र प्रगति हुने भएकाले आफ्नो सहयोग निरन्तर रहने उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका सन्दकपूर गाउँपालिका अध्यक्ष गिरिराज खनालले आफ्नो पार्टी सन्दकपूरको विकासमा निरन्तर साथमा रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जीवन सिवाले पर्यटनका माध्यमबाट सन्दकपूरलाई अघि बढाउन एकिकृत खाका तयार गरि अघि बढ्नुपर्ने बताए । उनले कृषि र पर्यटनलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका सन्दकपूर अध्यक्ष जित बहादूर निरौलाले पालिकाले जनतालाई परिवर्तनको अनुभुति हुने गरि काम गर्नुपर्ने बताए । कार्यक्रममा मंगोल नेसनल अर्गनाइजेसनका पार्टी प्रतिनिधि गणेश राईले सन्दकपूरको विकासका लागि आफ्नो पार्टीले सधै सहयोगि भुमिका निर्वाहा गर्ने बताए । कार्यक्रममा शिक्षा समाजसेवी नेत्र रिजालले सन्दकपूर गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष लिला बुर्जाले सिमित श्रोत र असिमिति आवश्यकताले गर्दा गाउँपालिकाले प्राथमिकताका आधारमा योजनाहरु कार्यान्वयन गर्दै लगेको बताए । सन्दकपूर गाउँपालिका लेखा शाखा प्रमुख युवराज नेपालले संचालन गरेको कार्यक्रममा सन्दकपूर गाउँपालिका भित्रका अधुरा योजनाहरु सम्पन्न गर्नका लागि प्रतिनिधिसभा सदस्य महेश बस्नेत र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुलाई ज्ञापन पत्र बुझाइएको थियो ।
ज्ञापन पत्र बारे जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले पालिकामा वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा खट्ने कर्मचारीको अभाव रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बु र जिल्ला समन्वय प्रमुख जयप्रकास राईलाई सम्मान र अभिनन्दन गरिएको थियो ।
लोकल सन्देशको सहयोगमा