रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश

  नयाँ बुलन्द
91 Shares

काठमाडौं : सर्वोच्च अदालतले टीकापुर घटनामा तल्ला अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ।

न्यायाधीश टंक मोक्तान र मनोज शर्माको इजलासले चौधरीको पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश गरेको सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ।

प्रत्यर्थी भनेको उनको पुनरावेदन निवेदनमा प्रतिवादी बनाइएका संस्था वा व्यक्ति हुन्।

उच्च अदालत दीपायलले जन्मकैदको फैसला सदर गरेपछि त्यसविरूद्ध उनी सर्वोच्च अदालत आएका थिए।

दीपायल अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैद गरिएको जिल्ला अदालत कैलालीको फैसला सदर गरेको थियो।

कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाइ हुने फैसला गरेको थियो।

चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख थियो।

उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। तीमध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख थियो।

तहाँवर अलि, विसराम चौधरी र रामनरेश चौधरीले भने सफाइ पाएका थिए।

त्यस्तै कैलाली अदालतले दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारू, विधान चौधरी, पुल्कीराम चौधरी, रामप्रसाद चौधरी, लक्ष्मण थारू,लाहुराम थारू, रामकुमार कठरिया,सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा,प्रेम बहादुर चौधरी र किसनलाल चौधरीलाई ३ वर्ष कैद गरेको छ।  अभियुक्त मध्ये करण चौधरीलाई बालबालिका ऐन अनुसार ६ महिना जेल हुने फैसला अदालतले गरेको थियो।

२०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। भने ३१ जना फरार छन्। फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरी स्थगित) मा राखिएको छ।

पुर्पक्षका लागि जेलमै रहँदा उनले  २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत् उम्मेदवारी दिएका थिए। उनी कैलाली-१ बाट भारी मत ल्याएर सांसद निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार