फाकफोकथुम गाउँपालिकाले वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दै

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्ने भएको छ ।

गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकाले गाउँकार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी गरेको छ । गाउँकार्यपालिकाको कार्यालयमा दुई पटक र वडा कार्यालयमा एक पटक सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने लिम्बूले जानकारी दिए ।

जसअन्तरगत गाउँकार्यपालिकाको कार्यालय र वडा नम्बर ३ को संयुक्त रुपमा गाउँकार्यपालिकाको कार्यालय आमचोकमा दुई पटक सार्वजनिक सुनुवाई हुनेछ । अन्य वडाहरुको सम्बन्धित वडा कार्यालयमा संचालन हुनेछ ।

गाउँपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार गाउँकार्यपालिकाको कार्यालय आमचोकको प्राङ्गणमा गर्ने भएको छ । अन्य वडाहरुमा गरिने कार्यक्रमको मिति भने पछि तय हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले गर्नेछ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार