पशुपतिनगर भन्सारमा ६ महिनामा ८७ लाख ३८ हजार राजस्व संकलन

  नयाँ बुलन्द
70 Shares

इलाम :  इलामको पुर्वी नाका पशुपतिनगर भन्सारले चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म ८७ लाख ३८ हजार राजस्व संकलन गरेको छ । यो चालू आवमा राखेको राजस्व संकलनको लक्ष्यको साढे ३४ प्रतिशत हो ।

पशुपतिनगर भन्सारले चालु आर्थिक वर्षमा २ करोड ५३ लाख ४० हजार संकलन गर्ने लक्ष्य राखेको छ । यही अनुपातमा मात्र राजस्व संकलन हुने हो भने लक्ष्य अनुसार राजस्व संकलन नहुने देखिएको छ । तर राजस्व संकलनमा वृद्धि हुने अपेक्षा कार्यालयको छ ।

कार्यालयले चालु आर्थिक वर्षको पुसमा सबैभन्दा बढि राजस्व पशुपतिनगरले संकलन गरेको कार्यालय प्रमुख प्रेम लामाले जानकारी दिए । कार्यालयले पुसमा मात्रै २१ लाख ८० हजार रुपैया संकलन हुने प्रक्षेपण गरेपनि १४५ प्रतिशतले बृद्धि हुँदा ३१ लाख ६५ हजार रुपैया संकलन भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा भारतीय पर्यटकहरुको आगमन उच्च भएकाले अस्थायी सवारी पासबाट रकम संकलन भएको कारण पुसमा लक्ष्यभन्दा बढि संकलन भएको लामाले बताए । कार्यालयले सबैभन्दा कम भदौमा ५३ प्रतिशत मात्र गरेको छ ।

कार्यालयमा चालु आर्थिक वर्षमा राजस्व चुहावट सम्बन्धी कसुर दर्ता ३१ वटा मुद्धाबाट ५२ लाख २५ हजार ६ सय ३६ रुपैया संकलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतसँग भएको व्यापार तथा पारवहन सन्धि अनुसार पशुपतिनगर-सुखियापोखरीलाई व्यापारिक रुट मानिएको तर व्यवहारमा सो नभएकोले चुनौती देखिएको जनाएको छ ।

भारतीय क्षेत्रबाट पशुपतिनगर भन्सार स्थापना नहुँदा बिल अफ इन्ट्री जारी नहुने भएकाले निर्यातको राज्स्व संकलनमा समस्या देखिएको जनाइएको छ । ५२ किलोमिटर लामो पहाडी खुला सिमाका कारण बढेको अवैध कारोबार, कर्मचारीको संख्या न्युन रहनुका साथै प्लान्ट क्वारेन्टाइनको अभाव, वैदेशिक व्यापार सम्बन्धी शिक्षाको कमी र परिमाणात्मक बन्देज र बढी पैठारी राजस्व लाग्ने मालबस्तुको चोरी पैठारी बढ्दो देखिएको जनाइएको छ ।

पशुपतिनगर नाकाबाट हरियो तरकारी, छुर्पी, दुध, फुलको दाना, तितौरा, घिउ, गोरु, राँगा र चीज गरि ९ प्रकारका वस्तुहरु निर्यात हुने गरेको छ । भारत तर्फबाट कपडा, चप्पल, जुत्ता, चिनी, आर्कशिल्ड खदा कपडा, फिङ र गमला जस्ता बस्तु पैठारी हुने गरेको छ । इलामको छब्बीसे देखि पाँचथरको च्याङथापुसम्म ८ वटा छोटी भन्सार रहेका छन् । कोभिड संक्रमणपछि अहिले सबै छोटी भन्सार बन्द रहेकाले चोरी निकासी बढ्दै गएको पाइएको छ ।

भन्सार कार्यालय र छोटी भन्सारमा भन्सार अधिकृत देखि कार्यालय सहयोगीसम्म २० जनाको दरबन्दी रहेकोमा हाल ९ जना कर्मचारी मात्र पदपुर्ति भएका छन् । पशुपतिनगर भन्सारमा अधिकृत रिक्त रहेकाले निमित्तका रुपमा नायब सुब्बा प्रेम लामाले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पशुपतिनगर नाकाको बाटो हुँदै २ सय वर्ष भन्दा अघिबाट व्यपार व्यवसाय हुँदै आएको थियो ।

१८ औं शताब्दीबाटै दार्जिलिङ हुदै आउने मालबस्तु पशुपतिनगर, फालेबुङ हुदै धुलाबारी जाने गरेको थियो । भारत तर्फ सुखियापोखरी स्टेशन सन् १८७५ स्थापना भई नेपालसँगको वैदेशिक व्यापार व्यवस्थित गर्न खोजिएको थियो । नेपाल भारत मैत्री सन्धीले पशुपतिनगर सुखिया पोखरी नाकालाई स्विकृत व्यापार मार्गको रुपमा स्वीकार गरेको जनाइएको छ । भारत तर्फको सुखियापोखरीको भन्सार कार्यालयले बिल अफ इन्ट्री जारी गरेको छैन् ।

कस्टम चेक पोष्टमात्र रहेको र अध्यागमन, क्वारेन्टाइन जस्ता जस्ता अन्य सीमा कार्यालयहरु समेत छैन् । नेपाल तर्फ पशु क्वारेन्टाइन रहेको छ । तर भारततर्फ नहुँदा नेपालबाट भन्सार काटेर पनि भारत निकासी बैधानिक रुपमा गर्न पाइएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार