पाँचथर: चेम्जोङ दम्पती रणबहादुर र गंगामायाले सरस्वती पूजाको अवसरमा घुर्बिसे पञ्चमी माद्यमिक विद्यालयलाई सरस्वतीको मूर्ति हस्तान्तरण गरेका छन् ।
हाल भारतीय सेनाको हवल्दार पदमा कार्यरत फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ निवासी स्व.कुवेर सिंहका छोरा रणबहादुरले आफूले बाल्यकालदेखि प्रारम्भिक शिक्षा हाँसिल गरेको विद्यालयलाई ५० हजार रुपैया भन्दा बढी लागतमा निर्मित मुर्ति सौजन्य गरेका हुन् ।
तस्वीरमा मात्रै पुजा गरेर वर्षौदेखि सरस्वती पुजा मनाइरहेको यस विद्यालयले सरस्वतीको प्रतिमाको सौन्दर्य मुर्ति पाएपछि विद्यालय परिवारमा उत्साह छाएको प्रधानध्यापक नरेन्द्र प्रसाद अधिकारीले बताए ।
रण बहादुर र उनको परिवारले स्व. बुबाआमाको नाममा यसअघि पनि २०७४ सालमा यस विद्यालयमा फलामको ग्रीलबाट बनेको मेन गेट निर्माण गरी दिएका थिए । २०३९ सालमा जन्म भइ यस विद्यालयमा अध्ययन पश्चात २०५८ सालमा भारतीय सेनामा भर्ती भएका उनी यो समयमा नेपालमा छुट्टी आएको बेला उक्त सहयोग गरेका हुन् । उनको परिवारले हाल घुर्विसे पञ्चमी बजारमा व्यवसाय पनि संचालन गरी रहेका छन् ।
इलाम र पाँचथर जिल्लाको सिमाना घुर्बिसे पञ्चमीमा २०३७ सालमा स्थापना भएको यो विद्यालय पाँचथर जिल्लाको शैक्षिक क्षेत्रमा अब्बल मानिएको छ । यसअघि एसएलसी परीक्षामा जिल्लाकै प्रथम तथा पटकपटक उत्कृष्ट अंक हाँसिल गरि जिल्ला शिक्षा कार्यालय,पाँचथरबाट नगद सहित पुरस्कृत भइसकेको यस विद्यालयमा कक्षा १ देखि १२ सम्म हाल ५२५ जना विद्यार्थी र २१ जना शिक्षक तथा स्टाफ रहेको छन् ।
भौगोलिक दृष्टिकोणले उर्युक्त भएतापनि यस विद्यालयको जमीन साथै भौतिक संरचनाको अभावमा उच्चशिक्षा र प्राविधिक धारको विषय संचालन गर्ने प्रकृया अगाडी बढाउन कठिन भइरहेको जनाइएको छ ।