स्व.सुवासचन्द्र स्मृति नकाउट फुटबल प्रतियोगिताको उपाधि ठिंगेपुर एफसी फाकफोकथुमलाई

  युद्धबहादुर बोहोरा
875 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको कोल्बुङमा जारी स्व.सुवासचन्द्र स्मृति नकाउट फुटबल प्रतियोगिताको उपाधि ठिंगेपुर एफसी फाकफोकथुमले हात पारेको छ ।

जनजागरण अभियान तथा विकाश मञ्च फाक्तेपद्वारा कक्फेवा तङ्नाम ५०८३ को अवसरमा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक ‘बी’ लाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो ।

उपाधिसँगै ठिंगेपुर फुटबल क्लबले नगद ६० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता आयोजक ‘बी’ ले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विहीबार भएको खेलको प्लेयर अफ दी म्याच आयोजक ‘बी’ का नरेन्द्र नेम्वाङ,हाइ स्कोरर त्रिवेणी युथक्लब साराङडाँडाका विमोचन लिम्बु,उत्कृष्ट गोलरक्षक विजेता टिमका रोशन लिम्बुले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

स्व.सुवासचन्द्र चेम्जोङ स्मृति अक्षयकोषको आर्थिक सहयोगमा वर्षेनी हुँदै आएको खेलमा यस वर्ष छिमेकी जिल्ला इलामबाटसहित घरेलु टिम गरी जम्मा १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

माघ ६ गतेदेखि जनकल्यण माद्यमिक विद्यालय कोल्बुङको प्राङ्गणमा संचालित उक्त खेलमा मञ्चका अध्यक्ष उदीप चेम्जोङको अध्यक्षतामा जिल्ला समन्वय समिति पाँचथरका सभापति रामराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको थियो । उक्त खेलको समापन कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले विजेता तथा उपविजेता टिमलाई नगदसहित  ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । समापनमा जनप्रतिनिधि,स्थानीय पार्टी प्रतिनिधि,समाजसेवी,खेलप्रमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका सदस्य युवराज चेम्जोङले सञ्चालन गरेका थिए ।

को हुन् ?स्व.सुवास चन्द्र चेम्जोङ

पाँचथरको फाक्तेपमा बुबा हर्कसिंङ चेम्जोङका सुपुत्र स्व.सुवास चन्द्र चेम्जोङको १९९७ साल माघ ५ गते जन्म भएको थियो । कठिन समयका बाबजुद उनले प्रारम्भिक शिक्षा हाँसिल गर्दै इलामको फाकफोकथुम अन्तर्गत सिंहदेवी माविबाट एसएलसीको परिक्षासम्म सामेल भए । २०१० मा पवित्रा देवी आङदेम्बेसंग विवाह बन्धनमा बाँधिए । त्यसपछि २०२२ देखि २०२७ सालसम्न पाँचथरको तत्कालीन जिल्ला सभा सदस्य बने । २०२३ सालमा उनको पहलमा हालको जनकल्यण माविको स्थापना भयो। स्थापनापछि शिक्षकको अभाव र आर्थिक समस्या खेप्नु परेकाले उनले २०२६ सालमा  अंग्रेजी विषयको शिक्षक बनेर निःशुल्क अध्यापन शुरु गरे ।

उनकै पहलमा यो विद्यालय २०३७ सालमा निमावि  र २०५२ सालमा मावि बन्यो । विद्यालयमा संस्थापक अध्यक्ष तथा संचालक समितिको सभापति भएर  २०२३ देखि २०३० सालसम्म जिम्मेवारी सम्हाले । त्यसपछि २०३५ सालदेखि २०६० सालसम्म व्यस्थापन समितिको अध्यक्ष  भए ।  २०२७ देखि २०६० सालसम्म गाउँफर्क अभियानमा मनोनित सदस्य बनेका समाजसेवी चेम्जोङ २०३८ देखि २०४६ सालसम्म दुई पटक फाक्तेप गाउँपंचायतको प्रधानपञ्च बने । २०४७ देखि २०५४ सालसम्म तत्कालीन फक्तेप गाविस को अध्यक्ष भएका थिए । उनको कार्यकाल र पहलमा २०४० सालमा  प्रहरी चौकी, २०४२ सालमा आयुर्वेद औषधालय,२०४७ सालमा फाक्तेप गाविस भवन निर्माण, २०५४ सालमा स्वास्थ्य चौकी, हुलाक लगायतका कार्यालयको स्थापनामा पहल गरेका थिए । उनले खानेपानी,कुलो,बाटोका योजनाहरु भित्र्याएका थिए । उनले स्थानीय विपन्न परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्दै समाजको अभिभावक बने उनले  भाषा,धर्म,संस्कृतिकको संक्षणमा पनि जोड दिए । उनले २०३६ सालमा बहुदलीय व्यवस्था की?निर्दलीय पञ्चायत व्यवस्था भन्ने तत्कालिन राजा विरेन्द्रको राजनीतिक घोषणामा  सकृय रुपमा बहुदलको पक्षमा राजनीति गरेका थिए । त्यससमय देखिनै नेपाली काँग्रेसका नेताहरु गणेश रिजाल,भूविक्रम नेम्वाङ, प्रेमराज आङदेम्वे र तेजप्रकाश रिजाललगायतका नेतासँग नजिकको सम्वन्ध रहेको थियो । २०३८ सालदेखिको निरन्तर २०४३ सालसम्म प्रधानपञ्च र २०५४ सालमा समेत अध्यक्ष पदमा निर्वाचित भएका थिए । शिक्षाप्रेमी तथा समाजसेवी चेम्जोङको समाजसेवामै लागिरहेकै बेला ६३ वर्षको उमेरमा २०६० साल बैशाख २२ गते निधन भयो ।   समाजसेवी चेम्जोङका पाँच छोरा र तीन छोरीहरु रहेका छन् । उनको स्मृतिमा छोराछोरीले जनकल्यण विद्यालयमा पुस्तकालयको र अक्षयकोषको समेत स्थापना गरेका छन् । हाल छोराछोरी र नातानातिनी गरी परिवार संख्या लगभग दुई दर्जनको हाराहारी छन् । उनका जेठा छोरा बेलायतमा छन् । माइला र काइला छोरा पुर्ख्यौली स्थानमा र साइला काठमाण्डौंमा छन् भने कान्छा पनि विदेशमा छन् । उनी फाक्तेपको लागि मात्रै नभइ पाँचथरमा निक्कै जनप्रेमी नेता तथा अभिभावकको रुपमा परिचित थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार