महिलालाई लोकसेवा पढाउँदै फाकफोकथुम गाउँपालिका

  राम योङहाङ
4.3k Shares


इलाम : लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउने उदेश्यले इलामको फाकफोकथुम गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन एक महिने तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत महिलाहरुका लागि आवसीय लोकसेवा तयारी कक्षा संचालन गरिएको फाकफोकथुम गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख विमला येक्तेनले जानकारी दिइन् ।

निजामति सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब महिलाहरुलाई लक्षित गरी नि:शुल्क लोकसेवा तयारी कक्षा पढाउन थालिएको शाखा प्रमुख येक्तेनले बताइन् । शाखा प्रमुख येक्तेनका अनुसार विहान र बेलुका गरी दैनिक दुई वटा कक्षा संचालन भईरहेको छ । सहभागीहरुलाई केही गाउँपालिकाबाटै र केही बाहिरबाट ल्याइएको जनशक्तिबाट कक्षा संचालन भईरहेको येक्तेनले जानकारी दिइन् । तयारी कक्षामा प्रथम पत्रलाई विशेष जोड दिइएको र द्वितीय एवम् तृतीय पत्रको सामान्य लेखनशैलीबारे मात्र पढाईने येक्नेनले जानकारी दिइन् ।

तयारी कक्षा फागुन पहिलो सातासम्म गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ । कक्षामा कक्षा १२ उत्तीर्ण गाउँपालिकाभरका ३३ जना महिलाको सहभागिता रहेको छ ।

निजामती क्षेत्रमा आफ्नो फाकफोकथुम गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकाबासीलाई लोकसेवाप्रति आकर्षण बढाउन लोकसेवा तयारी कक्षा संचालन गरिएको गाउँपालिका उपाध्यक्ष कल्पना राईले बताइन् । ‘फाकफोकथुम गाउँपालिकामा निजामति सेवामा उपस्थिती एकदमै न्युन छ, त्यसमा पनि महिलाको संख्या त झनै कमजोर छ’ उपाध्यक्ष राईले भनिन्, ‘हाम्रो पालिकाबाट समेत लोकसेवाप्रति आकर्षण बढाउन र निजामति क्षेत्रमा संख्या बढाउन कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमले त्यसलाई सहयोग गर्ने अपेक्षा गाउँपालिकाको छ ।’

तयारी कक्षामा सहभागिताका लागि गाउँपालिकाले खुला आवेदन आह्वान गरी छनौट भएकाहरुलाई सहभागी गराई कक्षा संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । कतिपय महिलाको तयारी कक्षा लिने चाहना हुँदापनि सदरमुकाममा बसेर लिनसक्ने अवस्था नरहेकाले गाउँमै तयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।
सो कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष सात लाख रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार