इलाम : पछिल्लो समय पत्रकारिता क्षेत्रमा युवाहरुको आकर्षण निराशाजनक छ । मोफसलमा संचारमाध्यमहरु स्थापनाको क्रम बढ्दो रहेपनि पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने युवाहरुको संख्या उत्साहजनक छैन । एक दशक अघिसम्म एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका एवम् अनलाइनमा काम गर्न चाहने युवाहरु थुप्रै भेटिन्थ्यो । तर हाल ती सञ्चारमाध्यमहरुमा आवश्यक जनशक्तिको समेत अभाव हुन थालेको छ ।
पछिल्लो पुस्ताका युवाहरु पत्रकारितालाई नै भविष्यमा आफ्नो मुख्य पेशा बनाउन चाहनेहरु कमैमात्र भेटिन्छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबको बढ्दो प्रयोगका कारण पत्रकारिता क्षेत्रमा युवाको लगाव कमैमात्र रहेको पाइन्छ । अधिकाशं युवाहरुमा मोवाइल र इन्टरनेटको पहुँच वृद्धि भएसँगै व्यावसायिक पत्रकारिता भन्दा पनि अन्य विषयमा रमाउने गरेका कारण युवामा पत्रकारिताको आकर्षण खासै देखिँदैन ।
तर इलामका युवाहरु भने पत्रकारिता क्षेत्रमा आकर्षित भएका छन् । जिल्लाका सीमान्तकृत वर्गका युवाहरु व्यावसायिक पत्रकारिताप्रति आकर्षित भएको पाइएको छ । जिल्लामा शनिबार र आइतबार संचालित पत्रकारिता सम्बन्धी एक कार्यक्रममा सीमान्तकृत वर्गका युवाहरुको उत्साहजनक उपस्थितीले पत्रकारितामा आकर्षित भएको पाईएको हो ।
जिल्लाका पत्रकारिता क्षेत्रमा रुचि भएका महिला, अपांगता भएका, आदिवासी जनजाति, दलित, पिछडा वर्गका युवाहरुका लागि आयोजित दुई दिवसीय ‘पत्रकारिता अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम’ नामक तालिममा भएको उत्साहजनक सहभागिताले सीमान्तकृत युवाहरुमा पत्रकारिताको चासो रहेको देखाएको हो ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको आयोजनामा भएको तालिममा ४६ जना सीमान्तकृत युवाहरुको सहभागिता रह्यो । तालिममा थामी समुदायका पाँच जना, लेप्चा समुदायका चार जना, शेर्पा समुदायका दुई जना, गुरुङ दुई जना, सुनुवार समुदायका दुई जना, याख्खा समुदायका एक जना, अपाङ्गता भएका तिन जना र दलित समुदायका आठ जना युवा सहभागी ऐए । त्यसैगरी लिम्बू, राई र खसआर्य समुदायका युवा समेत सहभागी भए ।
तालिम लिइसकेपछि सीमान्तकृत वर्गका युवाहरुले आफूहरु पत्रकारिता क्षेत्रमा प्रवेश गर्न इच्छुक रहेको बताए । सहभागीमध्येका एक सागरमान लेप्चाले आफू व्यवासायिक पत्रकारिता गर्न इच्छुक रहेकाले तालिममा सिकेका ज्ञान र सीपलाई व्यावहारिक रुपमा प्रयोग गर्दै अघि बढ्ने बताए । ‘यसरी सीमान्तकृत र लोपोन्मुख समुदायका लागि यस्ता तालिमहरु खासै आयोजना हुँदैनन् । जसका कारण यसअघि यस्तो तालिम लिने अवसर पाइएको थिएन’ लेप्चाले भने, ‘यो राम्रो अवसर पाएको छु । यहाँ सिकेका ज्ञान र सीपलाई व्यवाहारिक रुपमा प्रयोग गर्दै अगाडी बढ्नेछु ।
त्यस्तै अर्की सहभागी कमला गौतमले अपाङ्गता भएका युवाहरुका लागि समेत आयोजना गरिएको तालिमले व्यावसायिक पत्रकारितामा लाग्ने हौसला प्रदान गरेको बताइन् । ‘हाम्रो लागि आयोजना गरिएको यो तालिमले व्यावसायिक पत्रकारिता गर्न उत्प्रेरणा जगाएको छ’ गौतमले भनिन् ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले व्यावसायिक पत्रकारिता गर्न इच्छुक युवाहरुलाई विभिन्न सञ्चारमाध्यममा आवद्ध हुन अनुरोध गर्दै त्यसका लागि महासंघले पहलकदमी लिने बताए ।
तालिममा संचारको अर्थ, तत्व र प्रकार, सूचनाको हक सम्बन्धी कानुनी व्यवस्था र सार्वजनिक निकायको दायित्व, आम सञ्चार, समाचारको अवधारणा, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, सूचनाको अर्थ, पत्रकारिता, पत्रकार आचारसहिंतालगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत गणेश कार्की, महासंघका अध्यक्ष भट्टराई, सचिव भीम चापागाईं र कोषाध्यक्ष राम योङहाङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत कार्कीले छुट्टै अस्तित्वको मन्त्रालयको अन्तिम कार्यक्रम इलाममा भएको भन्दै यस कार्यक्रमले पत्रकारिता क्षेत्रमा आउने सीमान्तकृत वर्गका युवाहरुलाई केही न केही सहयोग भएको मन्त्रालयले अपेक्षा लिएको बताए ।