राष्ट्रिय फुटबल खेलाडी पुनमलाई फाल्गुनन्द गाउँपालिकामा ५० हजार नगदसहित सम्मान

  युद्धबहादुर बोहोरा
651 Shares

पाँचथरः  राष्ट्रिय फुटबल महिला खेलाडी पुनम चेम्जोङलाई फाल्गुनन्द गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ ।

पालिकाले एक कार्यक्रमको आयोजना गरी उनलाई विहिवार सम्मान गरेको हो । नेपाल अन्डर १५  राष्ट्रिय महिला फुटबल टिममा छनौट भएर चेम्जोङसहितको टिमले १ नोभेम्बर २०२२ देखि ११ तारिखसम्म बङ्गलादेशमा आयोजित महिला साफ च्याम्पियन २०२२ को  महिला राष्ट्रिय फुटबल टिमको खेलाडीको रुपमा सहभागी भएकी थिइन् । उक्त खेलमा नेपालले ऐतिहासिक उपाधि पाउन सफल भएको थियो । ग्रामीण क्षेत्रमा रहेर पनि उनी राष्ट्रिय खेलाडी बन्दै उनले खेलकुद क्षेत्रमा पुर्याएको योगदान र यसपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएको प्रति उच्च कदर गर्दै सम्मान गरिएको  पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

पालिकाको ५ नम्बर वडास्थित सिङ्हाङ निवासी पूर्णराम  र मुना चेम्जोङको कान्छी छोरी पुनम २०६४  साल पौष ३ गते जन्म भइ  प्रारम्भिक शिक्षा विजयटार आधारभूत विद्यालाय फाकफोकथुम-१,दशमीमा हाँसिल गरिन् । त्यसपछि घुर्बिसे पञ्चमी माद्यमिक विद्यालय फाल्गुनन्द-५,फाक्तेपबाट एसईई पास गरेपछि हाल द इन्साइड भिजन काठमाण्डौमा कक्षा ११ मा अध्ययनरत उनी माघ १२ गतेदेखि अन्डर १७ को महिला फुटबल खेलको छनौट हुने खेलमा तयारी गरिरहेको क्लबका मानार्थ सदस्य केबी चेम्जोङले जानकारी दिए ।

फाल्गुनन्द ५ नम्बर वडामा रहेको फाक्तेप युथक्लबको सदस्य रहेकी चेम्जोङले हिले मैदानबाट फुटबल खेलमा थालनी गर्दै अहिले पाँचथर जिल्लाको मात्र नभएर देशकै इज्जतलाई उचाईमा पुर्याउन र फुटबल खेलमा पुर्याएको योगदानको कदर गर्दै युथक्लबले सम्मान कार्यक्रमको आयोजना गरेर विजय र्यालीसहित उनलाई घरसम्म लगिएको थियो । उनले अध्ययन गरेको विद्यालय र ५ नम्बर वडाले नगद १० हजार रुपैंयाले सम्मान गरिसकेको क्लबका अध्यक्ष पंच कुमार चेम्जोङले बताए ।

 

उनी काठमाण्डौ बस्नु पर्ने व्यक्तिगत कारणले केही समय ढिलै भएपनि पालिकाले सम्मान गरेको छ । शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम राईको अध्यक्षतामा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले ५० हजार रुपैंयाको चेक र सम्मान पत्रसहित सम्मान गरेका छन् । मेहनतका साथ खेलाडी उत्पादन गर्ने फाक्तेप युथक्लब तथा सम्मानित खेलाडी चेम्जोङलाई बधाई र शुभकानासहित आगामी दिनमा पनि पालिकाले सहयोग गर्ने आश्वसन दिए ।

सम्मान कार्यक्रममा पालिकाका लेखा शाखा प्रमुख चन्द्र योङ्हाङ,योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारी,वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार चेम्जोङ,जनकल्याण मावि कोल्बुङ्का प्रधानध्यापक पूर्णकुमार सदेम्बा,फाक्तेप युथक्लब (पीवासी) परिवार,पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार