घुर्बिसे पञ्चमी माविको व्यवस्थापन समिति अध्यक्षमा लगन बिक्रम चेम्जोङ

  युद्धबहादुर बोहोरा
2.2k Shares

 

घुर्बिसे पञ्चमीः पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ५ मा रहेको श्री घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । बुधवार बसेको अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

नवगठित समितिमा लगन बिक्रम चेम्जोङ अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन भएका छन् । अन्य पदाधिकारीमा सदस्य नगेन्द्र बस्नेत,पन्चबहादुर चेम्जोङ,महिला तर्फ जानुका चेम्जोङ आङ्देम्बे,सुस्मा चेम्जोङ,दलित तर्फ अनु रसाइली,वडाप्रतिनिधि घनेन्द्र चेम्जोङ,शिक्षक प्रतिनिधि सुरेन्द्रप्रसाद लामिछाने र सदस्य सचिव (प्रअ) नरेन्द्रप्रसाद अधिकारी रहेका छन् ।

इलाम र पाँचथर जिल्लाको सिमाना घुर्बिसे पञ्चमीमा २०३७ सालमा स्थापना भएको यो विद्यालय पाँचथर जिल्लाको शैक्षिक क्षेत्रमा अब्बल मानिएको छ । यसअघि एसएलसी परीक्षामा जिल्लाकै प्रथम तथा पटकपटक उत्कृष्ट अंक हाँसिल गरि जिल्ला शिक्षा कार्यालय,पाँचथरबाट नगद सहित पुरस्कृत भइसकेको यस विद्यालयमा कक्षा १ देखि १२ सम्म हाल ५२५ जना विद्यार्थी र २१ जना शिक्षक तथा स्टाफ रहेको प्रधानध्यापक नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन भइरहेको साथै कक्षा ७ सम्म भाषा शिक्षा अन्तर्गत लिम्बू भाषा विषय समेतको पठनपाठन संचालित छ ।

विद्यालयमा पुस्तकालय,विज्ञान प्रयोगशाला,आइसिटि ल्याबको व्यवस्थापन गरिएको छ । गाउँपालिकाको सहयोगमा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजानास्ताको प्रबन्ध मिलाएको विद्यालयले जनाएको छ । इलाम जिल्लाका समेत विद्यार्थीलाई अध्ययन गर्न पायक पर्ने यो शैक्षिक संस्था पालिका स्तरमा हरेक कुरामा अगुवा भएता पनि खेलमैदान,शौचालय तथा विद्यालय भवन लगायत भौतिक संरचनाको अवस्था भने सन्तोषजनक नभएको अभिभावकले बताएका छन् ।

कक्षा ८,९ र १० मा विद्यार्थी संख्याको चाप बढी भएको साथै शिक्षकको अभावमा सेक्सन छुट्याएर सहजरुपमा पठनपाठनको व्यवस्थापन मिलाउन नसकिएको विद्यालय श्रोतले जनाएको छ ।

यसअघिका व्यवस्थापन समितिका अध्यक्ष टिका चन्द्र चेम्जोङको निधन भएपछि समिति चयनको प्रकृया अगाडी बढेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार