इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा विभिन्न ६ वटा समितिहरु गठन भएका छन् ।
गाउँपालिकाले कार्यपालिका बैठकबाट विभिन्न समितिहरु गठन गरेको हो । पालिकाको चौतर्फी विकासका लागि समितिहरु गठन भएको जनाइएको छ ।
माङसेबुङले स्वयमसेवी अभियान समिति, महिला समन्वय समिति, दलित समन्वय समिति,जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति, आदिवासी जनजाति समन्वय तदर्थ समिति, युवा तथा खेलकुद समिति गठन एवम पुर्नगठन गरेको छ ।
गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा स्वयमसेवी अभियान समिति
इलामको माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय हामी स्वयमसेवी अभियान समिति गठन भएको छ ।
गत २८ पुसमा बसेको गाउँकार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरेको हो ।
कार्यविधिमा व्यवस्था भए अनुसार गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा समिति गठन गरिएको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।
समितिका सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, इभाङ प्रहरी चौकीका इन्चार्ज प्रदिप गिरी, लागूऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने व्यक्तिबाट विजेस राई, पत्रकारबाट सुमन लावती, नेपाल स्काउटबाट सुदिप राई रहेका छन् ।
सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका प्रेस वक्तव्यमा उल्लेख छ ।
महिला समन्वय समिति पुर्नगठन, अध्यक्षमा सम्बाहाम्फे
माङसेबुङ गाउँपालिकाले महिला समन्वय समिति पुर्नगठन गरेको छ । गाउँकार्यपालिका बैठकले महिला समन्वय समिति पुर्नगठन गरेको हो ।
बैठकले राममाया सम्बाहाम्फेकोअध्यक्षतामा पाँच सदस्यीय समिति पनर्गठन गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
समितिका उपाध्यक्षमा घनादेवी आचार्य, सचिवमा कल्पना वानु राई, सहसचिवमा सनिता राई र कोषाध्यक्षमा अञ्जु लिम्बु आङबुहाङ रहेका छन् ।
अन्य सदस्यहरु महिला समन्वय समिति संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार पछि थप गर्ने निर्णय भएको प्रेस वक्तव्यमा उल्लेख छ ।
दलित समन्वय समिति गठन, अध्यक्षमा डोली
माङसेबुङ गाउँपालिकामा गाउँपालिका स्तरीय दलित समन्वय समिति गठन भएको छ ।
गाउँकार्यपालिका बैठकले पूर्ण कार्की डोलीको अध्यक्षतामा सात सदस्यीय दलित समन्वय समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा याम शंकर, सचिवमा सन्त विश्वकर्मा, सहसचिवमा कविता लुहागुन र कोषाध्यक्षमा करिश्मा दियाली रहेका छन् ।
सदस्यहरुमा गंगाराम बराईली र दिलबहादुर गजमेर रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।
अध्यक्ष डोली अघिल्लो कार्यकालमा माङसेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य थिए भने सचिव विश्वकर्मा वडा नम्बर ४ का वडा सदस्य थिए ।
जनप्रतिनिधिबाट बाहिरिएका दुवैलाई गाउँपालिकाले समन्वय समितिको अध्यक्ष र सचिवको जिम्मेवारी दिएको हो ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति, अध्यक्षमा बस्नेत
माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति गठन भएको छ ।
गाउँकार्यपालिका बैठकले निवर्तमान जिल्ला समन्वय समिति सदस्य पूणर्बहादुर बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिका सदस्यहरुमा हरि साङपाङ, केहरसिंह योङहाङ, किरणकुमार राई र भक्तबहादुर वान्तावा रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।
आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन, अध्यक्षमा राई
माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन भएको छ ।
गाउँकार्यपालिका बैठकले आदिवासी जनजाति समन्वय तदर्थ समितिको अध्यक्षमा हरी राई र सचिवमा राजकुमार योङहाङ रहने गरफ तदर्थ समिति गठन गरेको हो ।
अन्य पदाधिकारी र सदस्यहरु थप गर्ने प्रेस वक्तव्यमा उल्लेख छ ।
गाउँपालिकाले आदिवासी जनजाति समन्वय समितिको संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनिनसकेको हुनाले तत्काल अध्यक्ष र सचिव मात्र तोकिएको प्रवक्ता राईले जानकारी दिए ।
युवा तथा खेलकुद समिति पुर्नगठन, अध्यक्षमा योङहाङ
माङसेबुङ गाउँपालिकाले युवा तथा खेलकुद समिति पुर्नगठन गरेको छ ।
गाउँकार्यपालिका बैठकले माङसेबुङ खेलकुद कार्यविधि २०७५ संशोधन गरी माङसेबुङ युवा तथा खेलकुद कार्यविधि बनाउँदै समिति पुर्नगठन गरेको हो ।
बैठकले अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
समितिका उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा दिवस साम्बा, सहसचिवमा शरद जङहाङ राई र कोषाध्यक्षमा मञ्जु वान्तावा राई रहेका छन् ।
सदस्यहरुमा कुमार राई, प्रविण लिम्बु, गजेन्द्र योङहाङ, स्मृती राई, सेसेहाङ नेम्बाङ, लोकेन्द्र कार्की डोली, भीषण राई, सन्देश विश्वकर्मा, अविन लिम्बु र उदिप चाम्लिङ रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।
पुनर्गठित समितिका पदाधिकारी र सदस्यहरुलाई केही समयपछि गाउँपालिकाले पद तथा गोपनीयताको सपथ ग्रहण गराई औपचारिक जिम्मेवारी दिइने गाउँपालिका प्रवक्ता राईले जानकारी दिए ।