इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले महिलाका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ ।
गाउँपालिकाले निजामति सेवामा प्रवेश गर्न चाहने पालिकाभित्रका महिलालाई लक्षित गरी विहीबारदेखि १ महिने नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको हो ।
पालिकाभित्रका ३३ जना महिलालाई आवसीय नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्न लागिएको फाकफोकथुम गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख विमला येक्तेनले जानकारी दिइन् ।
शाखा प्रमुख येक्तेनका अनुसार विहान र बेलुका गरी दुई सेसनमा कक्षा संचालन हुनेछ । सहभागीहरुलाई गाउँपालिकाकै जनशक्तिबाट कक्षा संचालन गरिने येक्तेनले जानकारी दिइन् ।
कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बजेटबाट नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए ।
सो कार्यक्रमका लागि फाकफोकथुम गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० का लागि सात लाख रुपैयाँ विनियोजन गरेको छ ।