चुम्लुङका एजेन्डाहरू कार्यान्वयन गर्न सांसदहरूलाई आग्रह

  नयाँ बुलन्द
126 Shares

ललितपुर : आफ्ना संस्थागत एजेन्डाहरू कार्यान्वयन गर्न किरात याक्थुङ चुम्लुङले याक्थुङ लिम्बु सांसदहरूलाई शुक्रबार आग्रह गरेको छ । आम लिम्बुहरूको आधारभूत साझा मुद्दा भन्दै चुम्लुङले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसदहरूलाई यस्तो आग्रह गरेको हो ।

चुम्लुङ सङ्घीय कार्यसमितिले चुम्लुङ हिम ललितपुरमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदानमा ६ प्रतिनिधि सभा सदस्य याक्थुङ लिम्बु सांसदहरू उपस्थित थिए । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित याक्थुङ सांसदहरुलाई बधाई सँगसँगै सुझाव दिइएको अध्यक्ष प्रेम येक्तेनले बताए । ‘हाम्रा साझा र न्यूनतम कार्यक्रमहरू छन् । ती लागू होस् भन्ने हाम्रो चाहना रहेको दर्शायौँ । निर्वाचित सांसदहरूले गम्भीरतापूर्वक लिने विश्वास छ,’ उनले भने ।

निर्वाचित सांसदहरूमध्ये एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुभासचन्द्र नेम्वाङ(इलाम), राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन(झापा), नेपाली काङ्ग्रेसकी नेतृ लीला बोखिम(ताप्लेजुङ), एमालेका नेताहरू वसन्त कुमार नेम्वाङ(पान्थर), एलपी साँवा(झापा), नेतृ उर्मिला नेम्वाङ थेवे(ताप्लेजुङ) थिए । अन्य, दुई जना सांसदहरू काङ्ग्रेसका डिग बहादुर चेम्जोङ(मोरङ) र एमालेकी सरस्वती लिम्बु(सर्लाही) राजधानीबाहिर रहेका कारण उपस्थित हुन नसकेको महासचिव निरन्ती तुम्बापोले जनाइन् ।

चुम्लुङले उपस्थित सांसदहरूसमक्ष ११ बुँदे एजेन्डाहरू प्रस्तुत गरेको छ । जसमध्ये प्रदेश नम्बर एकको नाम पहिचानका आधारमा हुनुपर्ने र लिम्बुवानको नाम अटाउनुपर्ने सुझाएको छ । यस्तै, प्रदेश नम्बर एकको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बुलाई कार्यान्वयन गर्न मस्यौदा ऐन अविलम्ब पास गर्न भनेको छ । मुन्धुमी पवित्र स्थल मुक्कुमलुङ क्षेत्रमा भइरहेको साँस्कृतिक अतिक्रमण र वन कटानका प्राकृतिक विनाशलाई बन्द गरिनुपर्ने धारणा दिएको छ ।

याक्थुङ लिम्बु भाषामा पठनपाठनका लागि शिक्षक दरबन्दी कयम गर्न र सरकारी कार्यालयहरूमा सिरिजङ्गा लिपि र याक्थुङ भाषामा बोर्ड प्रयोग गर्न माग राखेको छ । यस्तै, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, मुन्धुमी स्थलहरूको संरक्षण गर्न नीति तथा निर्देशपका जारी गर्नुपर्ने, लिम्बुवानका पुराना स्थान नामहरू पुरानै अवस्थामा फर्काउँदै याक्थुङ भाषामा राख्नुपर्ने भनेको छ ।

लिम्बुवान क्षेत्रमा स्थानीय लिम्बु युवाहरूलाई प्राथमिकताका साथ कर्मचारीमा नियुक्त गरिनुपर्ने, आदिवासी जनजाति प्रतिष्ठान ऐनमा लिम्बु भनी सूचीकरण गरिएकोमा लिम्बु/याक्थुङ भनी सूचीकृत गरिनुपर्ने समेत जनाएको छ । समुदायको मूर्त अमूर्त सम्पदाहरूको संरक्षण र अभिलेखिकरण गरिनुपर्ने, अतिक्रमण र खोसिएका भूभागहरू सम्बन्धित थर वंशका नाममा अभिलेख राखिनुपर्ने भनेको छ । कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले दलको धारणा राखेका थिए ।

पछिल्लो निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षमा पाँच र समानुपातिकमा तीन गरी जम्मा आठ याक्थुङ सांसदहरू निर्वाचित भएको राष्ट्रिय निर्वाचन आयोगको विवरणमा उल्लेख छ । त्यस्तै, प्रदेश सभामा प्रदेश नम्बर एकमा प्रत्यक्ष तर्फ ७ जना र समानुपातिकतर्फ ५ गरी जम्मा १२ जना निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार