इलाम : माई नगरपालिका-५ स्थित दाहालटारदेखि रमितेसम्मको सडक मर्मतका क्रममा किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेको खुलेको छ ।
अनुगमन समिति संयोजक तथा वडा सदस्य समेत रहेका कृष्ण प्रधानले सडक मर्मतको अनुगम नै नगरी रकम भुक्तानीका लागि सिफारिस दिएको र निर्माण व्यवसायीले समेत भुत्तानी लिएसंगै किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेको खुलेको हो ।
दाहाल टारदेखि रमितेसम्मको सडक मर्मतका लागि ६ लाख रुपैयाँ वजेट विनियोजन भएको र सो सडक मर्मतका लागि कृष्णवहादुर मगरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएपनि सडक मर्मत समितिकै अध्यक्ष मगरको किर्ते हस्ताक्षरका आधारमा माई नगरपालिकाले ४ लाख ४५ हजार ६ सय ८७ रुपैयाँ माई भुत्तानी गरेको छ ।
सडक मर्मत समितिका सचिव इश्वरमान राईले समितिका अध्यक्ष वालकृष्ण मगरको किर्त हस्ताक्षार गर्दै रकम निकासाका लागि सिफारिस दिन वडामा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुगमन समिति संयोजक समेत रहेका वडा सदस्य कृष्ण प्रधानले काम सम्पन्न भएको जनाएसंगै वडाध्यक्ष भूपेन्द्र पूर्वछाने मगरले सिफारिस गरेको र वडाको सिफारिसका आधारमा रकम भुत्तानी भएको छ ।
सो रकम सडक मर्मत समितिले नभई निर्माण व्यवसायी भीम मोत्तानले लिएको समितिका अध्यक्ष बालकृष्णले बताए । उनले भने – सडक मर्मतका लागि समिति बन्यो तर, सडक मर्मतको ठेक्का भीम मोक्तानले लिनुभयो काम भयो या भएन मलाई केही थाहा छैन रकम निकासा भएपछि हल्ला हुँदा मात्रै मलाई थाहा भयो । यो विषयमा म अनविज्ञ छु । मेरो हस्ताक्षर नै किर्ते गरेर नगरबाट सडक मर्मत खर्चमा रकम निकासा भएको देखियो ।
हस्ताक्षर किर्ते कार्यमा अनुगमन समिति सदस्य कृष्ण प्रधान र समिति सचिव इश्वरमान राई सम्लग्न रहेको बताइएको छ । उनीहरुले नै समितिका अध्यक्षको हस्ताक्षर किर्ते गर्दै रकम निकालेको वडाध्यक्ष भूपेन्द्र मगरले बताएका छन् ।
वडामा भएको अनियमितताको विषय वाहिरिएसंगै वडाध्यक्षले सडक मर्मत समिति र निर्माण व्यवसायीलाई वडामा छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा उनीहरुले हस्ताक्षर किर्ते गर्दै रकम निकालेको स्वीकार गरेको वडाध्यक्ष मगरको भनाई छ ।
वडाध्यक्ष मगरले आफूले सो सडक मर्मतका विषयमा अनुगमन गर्ने जिम्मा वडा सदस्यलाई दिएको तर, वडा सदस्यबाट नै यस्तो कार्य भएपछि आफू समेत चकित बनेको बताएका छन् । उनले रकम निकासाका लागि सिफारिस लिन कागजपत्र मिलाएर आएकाले आफूले सिफारिस दिएको स्वीकारेका छन् ।
यता आफूले विश्वासका भरमा अनुगमनको सिफारिस दिएको प्रधानको भनाई छ । उनले सडक मर्मतको काम सम्पन्न भएको भन्दै सिफारिस मागेसंगै आफूले सडक मर्मत कार्य सम्पन्न भएको सिफारिस गरेको प्रधान बताउँछन् ।
सडक मर्मत समितिका सचिव इश्वरमान राईलाई यस विषयमा जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।
यता स्थानीयले भने सडक मर्मतका क्रममा भ्रष्टाचार भएको भन्दै वडा कार्यालयमा सत्यतथ्य छानविनका लागि माग गरिरहेका छन् । उनीहरुले दोषी उपर कारवाहीका लागि माग समेत गरेका छन् ।
उनीहरुले सडक मर्मत समिति सचिव इश्वरमान राई र अनुगमन समिति संयोजक कृष्ण प्रधानलाई कारवाहीको माग गरेका हुन् ।
सडक मर्मत समितिको अध्यक्षमा वालकृष्ण वुर्जा मगर, उपाध्यक्ष वेदुमाया गुरुङ, सचिव इश्वरमान राई, सह सचिव चन्द्रकुमारी राई, र कोषाध्यक्षमा सरिमाया मगर रहेका छन् ।
त्यस्तै सदस्यहरुमा केवलदास राई, आइतराज लिम्बू, छविलाल नेपाल, वावा लिम्बू, कमल राई र शेरवहादुर राना रहेका छन् ।
समितिका अन्य पदाधिकारीलाई सडक मर्मतका विषयमा कुनै जानकारी नै नभएको बताएका छन् । उनीहरुले सबै काम अनुगमन समिति संयोजक र सचिव इश्वर राईले गरेको बताएका छन् ।
-पूर्वान्चलबाट