ड्रागन खेतीमा रमाउँदै चुलाचुलीका वडा सदस्य लिम्बू (फोटो फिचर)

  राम योङहाङ
532 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ का वडा सदस्य माईतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । विहान उठेदेखि बेलुका नसुतेसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्राय जनताको काममा व्यस्त रहने लिम्बू विहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन्  ।

जनप्रतिनिधि भएकाले दिउँसो प्राय जनतासँगै सुखदु:खमा समय बिताउने गरेका लिम्बू विहान र बेलुका भने आफ्नो ड्रागन फुड खेतीको स्याहारसुसारमा व्यस्त रहने गर्दछन् । लिम्बूले छथरे टोलस्थित आफ्नै अंशमा पर्ने करिब ६ कठ्ठा जमिनममा विगत ३ वर्षदेखि ड्रागन फुड खेती सुरु गरेका हुन् । अहिले जनताको काम गरेर उब्रेको समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा समेत परिचित भएका छन् ।

चुलाचुली गाउँपालिकामा नै पहिलो पटक व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेर्दै रहरलाग्दो देखिन्छ । आकर्षक ड्रागन फुड हेर्न धेरैले रहरले चुलाचुलीको छथरगाउँ पुग्ने गरेका छन् । लिम्बूको ड्रागन बगानमा अहिले सेतो र रातो गरी २ प्रजातिका दुई सय खम्बामा चार सय वटा ड्रागन फलका बोटहरु रहेका छन् । सबै बोटहरुले उत्पादन समेत दिन थालेका छन् ।

‘छथरे ड्रागन फुड कृषि फार्म’ दर्ता गरी करिव २ लाख रुपैयाँ लगानी गरेर ड्रागन फुडको खेती सुरु गरेका हुन् । लिम्बूलाई उनकी पत्नी माइतीमाया लिम्बूले पनि सहयोग गर्ने गरेकी छन् ।

लिम्बूलाई सुरुमा ड्रागन फुड उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन पनि राम्रो भएको र घरबाटै बिक्री हुने भएकाले बजारको समेत समस्या नभएको उनी बताउँछन् ।

लिम्बूले फलका अतिरिक्त विरुवा उत्पादनको काम समेत गर्दै आएका छन् । लिम्बले यसवर्ष मात्र दुई लाख १० हजार बढी आम्दानी गरेका छन् । फल बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ र विरुवा बिक्री गरेर ८० हजार रुपैयाँ आम्दानी गरेको लिम्बूले बताए ।

‘जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानी समेत राम्रै हुँदो रहेछ । ‘ लिम्बूले भने, ‘यस वर्ष फल बिक्रीबाट एक लाख ३० हजार रुपैयाँ र बिरुवा बिक्रीबाट ८० हजार रुपैयाँ आम्दानी गरेँ । यसैले नानीहरु पढाउन र घरखर्च चलाएको छ ।’

लिम्बूले सुरुमा साथी डेगनाथ गुरागाईंबाट २ वटा विरुवा ल्याएर परिक्षणका रुपमा रोपेका थिए  । तर विरुवा राम्ररी सप्रिन थालेपछि पुरानै खेती गर्दै आएका लिम्बूले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय विरुवा रोपेका थिए । ‘युवाहरुमा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफैं लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ’ लिम्बूले भने ।

ड्रागन फुडको बजार समेत राम्रो रहेकाले माग धान्न नै नसकिने लिम्बू बताउँछन् । लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेका हुन् । सरदरमा प्रतिकेजी ४ सयदेखि ५ सयमा बिक्री वितरण हुने ड्रागन फ्रुडको फल खादा धेरै मीठो हुने र नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउँने गरेका छन् । विरुवा भने स्थानीय स्तरमा नै विक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गर्दछ ।

ड्रागन फुडको फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने तथा टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फुड वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फुल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरु विरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाई बाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाई छ ।

ड्रागन फुडका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि १५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाईं सुविधा भएको ठाउँमा तराई, भित्रि मधेश र मध्य पहाडमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्श छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार