इलाम : १३ औं संस्करणको पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता आगामी २३ माघदेखि संचालन हुने भएको छ ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सवको अवसरमा संचालन हुन लागेको प्रतियोगिताको तयारी सुरु भएको छ ।
माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा महिला टिमको सहभागिता रहनेछ । प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङसहित र छिमेकी मुलुक दार्जिलिङको महिला टिमको सहभागिता रहनेछ ।
आत्मा पवित्र खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा यसवर्ष इलामको माङ्सेबुङ गाउँपालिका र जनता सेभेन, झापाको रोयल स्र्पोटिङ क्लब दमक र कन्काई नगर खेलकुद प्रतिष्ठान, सुनसरीको माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब धरान, ताप्लेजुङको कर्णसिंह सोनाम एफसी, धनकुटाको जिल्ला फुटबल संघ, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ र पाहुना टोली भारतको एमएफसी दार्जिलिङको सहभागिता रहेनेछ ।
प्रतियोगिताको विजेता टिमले २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल ३ फागुनमा हुनेछ ।
माङसेबुङमा २०६७ देखि हरेक वर्ष गुरुआमाको जन्मोत्सवमा यही समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।