माङसेबुङमा मेलमिलाप सम्बन्धी तालिम सकियो, २८ जना मेलमिलापकर्ता उत्पादन

  नयाँ बुलन्द
679 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा संचालित ८ दिने (४८ घण्टे) मेलमिलापकर्ता उत्पादन तालिम शुक्रबार सकिएको छ । तालिम सकिएसँगै गाउँपालिकाका विभिन्न वडामा २८ जना नयाँ मेलमिलापकर्ता उत्पादन भएका छन् ।

माङसेबुङ गाउँपालिका न्यायिक समितिको सचिवालयले गत १५ पुसदेखि संचालन गरेको तालिम शुक्रबार समापन गरिएको छ । माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानको उपस्थितीमा तालिम समापन गरिएको हो ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । तालिमका सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता पारस राई र याम माबोहाङले सहजीकरण गरेका थिए ।

तालिम माङसेबुङ गाउँपालिका वडा नम्बर २ को सभाहलमा संचालन गरिएको न्यायिक समितिका उजुरी प्रशासक राजकुमार माबोहाङले जानकारी दिए ।

मेलमिलापकर्ताले वडामा स्थापना गरिएको मेलमिलाप केन्द्रमा आएका पक्षहरूबीचको विवादलाई छलफल गराई सहज वातावरण निर्माण सिर्जना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि विवाद वा मुद्दाका पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै वा सबै विषयवस्तुमा मेलमिलाप गराउने काम गर्नेछन् ।

मेलमिलापकर्ताले समझदारीको वातावरण बनाई दुवै पक्षहरूलाई मान्य हुने गरी सहमतिमा पुर्‍याउन निष्पक्ष र तटस्थ सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । मेलमिलापकर्ताले कसैको पक्ष लिदैन र कुनै कानूनी सल्लाह पनि दिदैन । पक्षहरूले आफै निणर्यमा पुग्ने हो र पक्षहरूलाई निणर्यमा पुग्न मेलमिलापकर्ताले सहयोग र सहजीकरण गर्दछ ।

मेलमिलापकर्ताले उत्पादन भएसँगै वडाहरुमा स्थापना गरिएका मेलमिलाप केन्द्रहरु प्रभावकारी रुपमा संचालन हुने अपेक्षा गरिएको छ ।

१. मेलमिलाप के हो ?

विवाद समाधान गर्ने विभिन्न उपायहरू रहेका छन् । मेलमिलाप विवाद समाधानको विभिन्न उपाय मध्येको सर्वोत्तम उपाय हो । मुद्दा वा विवादका पक्षहरू बीचको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रूपमा कार्य गर्ने र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया मेलमिलाप हो । आँफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने तरिकालाई मेलमिलाप भनिन्छ ।

२. मेलमिलापकर्ता भनेको के हो ?

पक्षहरूबीचको विवादलाई छलफल गराई सहज वातावरण निर्माण सिर्जना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि विवाद वा मुद्दाका पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै वा सबै विषयवस्तुमा मेलमिलाप गराउने उद्देश्यले सहजकर्ताको रूपमा कार्य गर्न पक्षहरूले रोजेको व्यक्ति वा संस्थालाई मेलमिलापकर्ता भनिन्छ ।

३. सामुदायिक मेलमिलाप के हो ?

घर परिवार, छिमेकी तथा समुदायभित्र आउने सानातिना विवादहरूलाई मेलमिलापसम्बन्धी तालिम प्राप्त वडा तथा समुदायमा रहेका मेलमिलापकर्ताहरूले विवादका दुवै पक्षहरूको उपस्थितिमा निष्पक्ष रूपमा सहजीकरण गरी सहमतिमा ल्याई समुदाय स्तरमै विवाद समाधान गर्ने प्रक्रियालाई सामुदायिक मेलमिलाप भनिन्छ ।

४. कस्ता प्रकारका विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ?

सामान्यतया पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायतका फौजदारी मुद्दाहरू र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ । तर, नेपाल सरकारवादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दामा मेलमिलाप हुन सक्दैन ।

५. मेलमिलापकर्ता को हुन् र कहाँ रहन्छन् ?

मेलमिलापकर्ता भन्नाले मेलमिलाप प्रक्रिया सञ्चालन गर्न योग्य र मेलमिलापको तालिम प्राप्त दक्ष व्यक्ति हो । हरेक अदालतका मेलमिलाप केन्द्रहरू र सामुदायमा सञ्चालित खासगरी वडाहरुमा सञ्चालित मेलमिलाप केन्द्रहरूमा यस्ता मेलमिलापकर्ताहरू सूचीकृत रहेका हुन्छन् । घर-परिवार, छर-छिमेक र समुदायमा रहेका समझदार व्यक्ति वा पक्षले पत्याएको त्यस्ता व्यक्तिहरूसमेत तालिम नै नलिएको भएपनि मेलमिलापकर्ता हुन सक्छन् ।

६. मेलमिलापकर्ताको विवाद समाधानमा कस्तो भूमिका हुन्छ ।

मेलमिलापकर्ताले समझदारीको वातावरण बनाई दुवै पक्षहरूलाई मान्य हुने गरी सहमतिमा पुर्‍याउन निष्पक्ष र तटस्थ सहजकर्ताको भूमिका निर्वाह गर्छ । मेलमिलापकर्ताले कसैको पक्ष लिदैन र कुनै कानूनी सल्लाह पनि दिदैन । पक्षहरूले आफै निणर्यमा पुग्ने हो र पक्षहरूलाई निणर्यमा पुग्न मेलमिलापकर्ताले सहयोग र सहजीकरण गर्दछ ।

७. मेलमिलाप प्रक्रिया कसरी सञ्चालन हुन्छ ।

 मेलमिलाप गर्दा दुवै पक्षलाई आफ्नो भनाई राख्ने अवसर प्राप्त हुन्छ । मेलमिलापकर्ताले आवश्यकक्तानुसार पक्षहरूको छुट्टाछुट्टै वा संयुक्त रुपमा छलफल गर्न सक्छ । यसरी छट्टाछुट्टै गरेको छलफलबाट आफूलाई थाहा हन आएको कुरा सम्बन्धित पक्षहरूले अनुमति दिएमा बाहेक गोप्य रहन्छ । मेलमिलापकर्ताले पक्षहरूका बीच भएको छलफलबाट सहमति तयार गर्न पक्षहरूलाई सहयोग गर्दछ । मेलमिलापकर्ताले पक्षहरूलाई मेलमिलाप पक्रिया बारेमा जानकारी दिन्छन् ।

८. के मेलमिलाप सुरू गरेपछि पक्षहरू सहमतिमा पुग्न बाध्य हुन्छन् ?

 मेलमिलापमा पक्षहरू सहमतिमा पग्नै पर्ने बाध्यता हुँदैन । मेलमिलाप प्रक्रियामा प्रवेश गरेका पक्षहरू विवादका विषयहरू मध्ये सबै विषय वा केही विषयमा मात्र सहमतिमा पग्न वा कुनै पनि विषयमा सहमतिमा नपग्न सक्छन् । पक्षहरूबीच मेलमिलाप हुन सकेन भने अदालतमा विचाराधिन मुद्दा नियमित सुनुवाईका लागि अदालतमा नै फीर्ता गरिन्छ भने समदायको विवाद समाधानका लागि पक्षहरूले उपयुक्त उपाय अवलम्बन गर्न सक्छन् ।

९. मेलमिलाप प्रक्रियामा कति समय लाग्छ ?

विवाद र यसको जटिलता अनुसार मेलमिलापको लागि लाग्ने समय फरक-फरक हुन सक्छ । तथापी साना खालका विवाद मेलमिलाप प्रक्रिया सुरू भएको केही समय (दिन) मा नै समाधान हुन सक्छन् । जटिल प्रकृतिका विवादका लागि ३ महिनासम्म समय लाग्ने कानूनले अनुमान गरेको छ । कम समयमै विवाद समाधान हुने मेलमिलाप प्रक्रियाको विशेषता पनि हो ।

१०. मेलमिलापका लागि कति दस्तुर लाग्छ ?

मेलमिलापका लागि अदालतमा छुट्टै दस्तुर तिर्नु पर्दैन । तर मेलमिलाप गर्दा लाग्ने मेलमिलापककर्ताको समय आदिको विचार गरी विवादका दुवै पक्षको सहमति भएमा मेलमिलापकर्ताको शुल्क लिन सक्ने व्यवस्था छ । सामुदायिक मेलमिलापको लागि बढीमा रू. ५००।- सम्म र अदालत प्रेषित वा सामुदायिक

मेलमिलापको संयन्त्रबाहेकको मेलमिलापका लागि बढीमा रू. १०,०००।- सम्म मेलमिलापकर्ताले पक्षहरू सहमत भएमा पारिश्रमिक लिन पाउने व्यवस्था रहेको छ । अदालत वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दामा मेलमिलापका माध्यमबाट विवादको समाधान भएमा वा मिलापत्र भएमा मुद्दा दायर गर्दा तिरेको कोट फी समेत सम्बन्धित अदालतले फीर्ता गर्ने कानूनी व्यवस्था रहेको छ । कम खर्चमा विवाद समाधान हुने मेलमिलाप प्रक्रियाको विशेषता रहेको छ ।

११. मेलमिलापका फाइदाहरू के के हुन् ?

विवाद समाधानमा मेलमिलापको उपाय अवलम्बन गर्दा हुने फाइदाहरुः-

  • मेलमिलाप एउटा छिटो छरितो उपाय भएकोले यसमा समय र पैसा दुवै बचत हुन्छ ।
  • पक्षहरू आफैले विवादको समाधानका उपाय तय गर्ने भएकोले मुद्दा छिट्टै टुङ्गो लाग्छ ।
  • दुवै पक्षको सन्तुष्टी हुने भएकाले जितको अनुभूति हुन्छ । दुवैलाई चित्त बुझ्ने समाधानको उपाय वा सर्तमा मात्र मिलापत्र गर्न सकिन्छ ।
  • दुवै पक्षले आफ्नो अडान र सर्तमा लचकता ल्याएर दुवैको चाहना पूरा गरी मिलापत्र गर्ने भएकोले विवादका दुवैबीच सम्बन्ध राम्रो हुन्छ ।
  • मेलमिलाप प्रक्रियाबाट भएको मिलापत्र पक्षको निणर्यमा हुने भएकोले अदालती निणर्य सरह नै लागू हुन्छ ।
  • मेलमिलाप प्रक्रियामा भएको कुराहरू गोप्य राखिन्छ । मेलमिलाप प्रक्रियामा व्यक्त गरेका कुराहरू मुद्दामा प्रमाण लाग्दैन ।

१२. मेलमिलापको सेवा कहाँ पाइन्छ ?

 सबै तहका अदालतहरूमा मेलमिलाप केन्द्र रहेका छन् । अदालतममा प्रवेश गरेका मुद्दाहरूमा मेलमिलाप सेवा प्रदान हुन्छ । सामुदायिक मेलमिलाप कार्यक्रम लागू भएका पालिका/वडाहरूमा पनि मेलमिलापको सेवा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार