फिदिममा आगलागी हुँदा २ जनाको जलेर मृत्यु,५० लाखको क्षति

  नयाँ बुलन्द
2.5k Shares

साँकेतिक फाइल तस्वीर
मृत्यु हुनेमा २३ वर्षीय आसाङसिंङ थेवे र २२ वर्षीय ममता गुरुङ रहेका छन् ।
स्थानीय मेघ बहादुर गुरुङको घरमा गएराती १ः३५ बजेको समयमा अचानक आगलागी हुँदा उनकी बुहारी आसाङसिंङ र छोरी ममताको आगलागीमा परी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
आगलागीबाट मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । अन्य ३ जना भने भाग्न सफल भएका छन् । आगलागीबाट पूर्ण रुपमा घर क्षति हुँदा घरमा भएको अन्नपात,गरगहना,किराना पसलसहित जलेर नष्ट भएको छ । आगलागीबाट करीब ५० लाख जतिको क्षति भएको  प्रहरी कार्यालयले जनाएको छ ।विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ जना प्रहरी परिचालन गरिएको थियो ।
स्थानीयवासी,२ वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अग्नि पिडितहरुलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ । फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले,पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे,फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतको टोली घटना स्थलमा पुगेर उनीहरुलाई जिल्ला दैविक विपत्त ब्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मार्फत खाद्यन्न तथा लत्ताकपडा दिने तयारी भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार