घुर्बिसे पञ्चमीः २३ औं स्थापना दिवसका अवसरमा इमानसिंह आधारभूत विद्यालय फाल्गुनन्द ४ चिलिङदिनका विद्यार्थीलाई सामाग्री वितरण गरिएको छ ।
इतिहाँसकार स्व.इमानसिंह चेम्जोङको १२० औं जन्मजयन्तीका अवसर पारेर मनाइएको स्थापना दिवसमा फाल्गुनन्द ६,मेहेल्बोटे निवासी समाजसेवी निर्मल रिजालले ५२ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । हरेक समय जाडो हुने क्षेत्र भएका कारण र चिसो महिनालाई मध्यनजर गर्दै विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शैक्षिक क्षेत्रको उन्नती र विकाशमा योगदान दिंदै आएका रिजाल परिवारका सदस्य समाजसेवी निर्मलले हाल आफुले समाजसेवा र जतिसक्दो शेक्षिक क्षेत्रमा सहयोग गर्ने उनले बताए । पाँचथर काठमाण्डौ सम्पर्क समितिको सभापति समेत रहेका रिजालले विगत लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।
काठमाण्डौमा आपतकालीन अवस्था बेहोरेका पाँचथरका नागरिको उद्धार तथा सहयोगमा अगुवा गर्दै आएका छन् । उनको पहलमा कोरोना महामारीमा पनि पाँचथरका स्थानीयतहलाई २२ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका छन् । साथै गतसाल बेमौसमी वर्षाका कारण पाँचथरमा भएको मानवीय तथा भौतिक क्षतिमा समेत राहत उपलब्ध गराउन पहल गरेका थिए । उनले मन्दिर निर्माण,खानेपानीको व्यस्थापन,लगायत ३७ रोपनी जमीन जयनारायण उच्च माध्यमिक विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् ।मेहेल्बोटे पुर्ख्यौली थलो भएका उनका हजुरबुबा जयनारायण रिजालले तत्कालीन राणा शासनको समयमा २००५ सालमा पाँचथरकै पहिलो विद्यालय स्थापना गरेका थिए । हाल जयनारायण स्मृति ट्रष्ट स्थापना गर्दै हजुरबुबाको पुरानो चार तले घर र चार रोपनी जग्गा ट्रष्टलाई हस्तान्तरण गर्न लागिएको उनले जानकारी गराए ।
यसैबीच,स्थापना दिवशको कार्यक्रममा विद्यालयले बुक कर्नर स्थापना गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ । प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ् आङ्देम्बे तथा उपाध्यक्ष ठाकुरसिं नेम्बाङको विशेष आतिथ्यता प्रधानध्यापक खोमनाथ आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ४ नम्बरका वडाध्यक्ष दलबहदुर नेम्बाङ,पालिकाका लेखा शाखा प्रमुख चन्द्र योङ्हाङ,प्रशासन शाखा प्रमुख निर्मल अधिकारी,अभिभावक र विद्यालय परिवारको उपस्थितिमा वितरण गरिएको प्रधानध्यापक आचार्य जानकारी दिए । ५ जना शिक्षक र हाल ५२ जना विद्यार्थी रहेको यो विद्यालय राँके बजार नजिकै रहेको छ । यस बजारमा अन्य निजी विद्यालयहरु भएका कारण पनि सरकारी विद्यालय ओझेलमा परेको उनले बताए । हाल यो शैक्षिक संस्थामा खेलमैदान,भौतिक संरचना र व्यवस्थित खानेपानीको समस्या रहेकोले सम्बन्धित पक्षको ध्यानकर्षण समेत गराएका छन् ।