घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला,अविर पहिराइ उनको सम्झना गर्दै केलाङ प्रतियोगिता,लिम्बू कविता प्रतियोगिता,लिम्बू नृत्य प्रतियोगितालगायत विविध कार्यक्रमहरुसहित जयन्ती मनाइएको हो ।
इमानसिं चेम्जोङ शालिक संरक्षण समिति तथा फाक्तेप युथक्लबको आयोजनामा फाल्गुनन्द ५ नम्बर वडाध्यक्ष विष्णु कुमार चेम्जोङको प्रमुख आतिथ्य तथा थाकथाकु मावुहाङ् चेम्जोङ वंश उत्थान संघका केन्द्रीय सदस्य गणेश चेम्जोङको विषेश आतिथ्यमा सम्पन्न गरिएको आयोजक क्लबका अध्यक्ष पंच कुमार चेम्जोङले जानकारी दिए ।
२०६७ साल पौष १७ गते तत्कालीन संस्कृती मन्त्री डाक्टर मिनेन्द्र रिजालद्वारा उद्घाटन गरिएको चेम्जोङको शालिक स्थापनादेखि जयन्ती समारोहको आयोजना गरिएको समितिले जनाएको छ ।
ढाेलझाँकी सहितको टोली तथा संघसंस्था र स्थानीय बासीको उपस्थितमा मनाइएको कार्यक्रम शालिक संरक्षण समितिका अध्यक्ष भगीरथ चेम्जोङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । क्लबका मानार्थ सदस्य केबी चेम्जोङ्ले स्वागत मन्तव्य राखेका थिए भने सहसचिब भिम चेम्जोङले संचालन गरेका थिए । कार्यक्रममा वक्ताहरुले उनको जीवनीको वर्णन गर्दै समाजसुधारक तथा किराँत जातिका अगुवा इतिहाँसकारलाई राष्ट्रिय विभूतिको दर्जामा राख्नु पर्नेमा जोड दिए ।
पाँच दशक भन्दा लामो समय किराँत भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धानमा लागि परेका उनी दार्जिलिङमा माद्यामिक शिक्षा अध्यनको क्रम देखिनै किराँत जाति, इतिहास, धर्म, भाषा, लिपी र साहित्यको खोज अनुसन्धान गर्दै दुई दर्जन बढी कृति प्रकाशन गरेका थिए ।
को हुन् इमानसिंह चेम्जोङ ?
सन् १९०४ जनवरी १ तारीखमा भारतको दार्जिलिङमा जन्मिएका स्व. चेम्जोङको पुर्खौलिथलो पाँचथरको फाल्गुनन्द -६ आङ्साराङ हो । उनका पिता मेघवर सिंह रोजगारीको शिलशिलामा दार्जिलिङमा रहँदा माता दावापु हाङमाको कोखबाट उनको जन्म भएको थियो । अमृतासँग विवाह बन्धनमा बाँधिएका चेम्जोङ दम्पतीका तीन छोरी र दुई छोरा छन् । किराँत इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिने क्रममा ७२ वर्षको उमेरमा किराँत इतिहासविद् इमानसिंह चेम्जोङको देहावसान सन् १९७६ अक्टोबर ८ का दिन दार्जिलिङमा भएकाे थियाे ।
प्रारम्भिकदेखि ‘म्याट्रिक’ तहसम्मको शिक्षा कालेम्पोङबाटै गरेपछि कलेज (आइ.ए) पढ्न कलकत्ताको सेन्ट जेभियर्समा उनी भर्ना भए । त्यहीँबाट आइ.ए पूरा गरेर बी.एको अध्ययनपछि उहाँले लन्डनबाट एम.ए.एम.आर.एस. गरे । बाल्यकालमा चेम्जोङलाई पढाउने गुरुले एक दिन ‘किराँतीहरू जङ्गली हुन्छन्’ भनेपछि त्यसको उत्तरमा उनका बुबाले ‘किराँतीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ’ भनी उनको जिज्ञासा पूरा गरिदिएको भए पनि चेम्जोङलाई बुबाको जवाफले चित्त बुझेन, त्यसैले बुबाले भनेका कुराको खोजीमा उनी लागे ।
बुबाको हौसला र प्रेरणासमेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किराँत भाषा, संस्कृति र सभ्यताको खोजीमा समर्पण गरेका थिए । सन् १९६१ देखि त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा किराँत भाषा तथा संस्कृतिविद भई उनले १५ वर्ष सेवा गरे । त्यसअघि चेम्जोङ सिक्किमको रेभेन्यू अफिसरसमेत भएका थिए । त्यस्तै उनले लामो समयसम्म शिक्षण पनि गरे ।नेपाल सरकारले २०५५ साल देखि उनको फोटो अङ्कित हुलाक टिकटको शुरु गरेको छ ।
कृतिहरू किराँत मुन्धुम (वेद), लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश,किराँत इतिहास,किराँत मुन्धुम खाहुन् (शिक्षा), किराँत साहित्यको इतिहास,किराँत इतिहास तथा संस्कृति (अङ्ग्रेजी भाषामा),किराँत दन्त्यकथा, किराँत दर्शनको सारांश लाप्चा-नेपाली-अङ्ग्रेजी शब्दकोश,किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास आदि छन् ।