पाँचथरः इलाका प्रहरी कार्यालय अमरपुरको नवनिर्मित भवन शनिवार उद्घाटन गरिएको छ ।
हिलिहाङ गाउँपालिका वडा नम्बर १ अमरपुरस्थित जिल्ला प्रहरी कार्यालय पाँचथरको मातहतमा रहेको निर्माण सम्पन्न उक्त भवन प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाको अध्यक्षतामा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
१ नम्वर प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित रकम एक करोड ८३ लाख ८८ हजार १९ रूपैँयाको लागतमा पाँच रोपनी जमीनमा दुई तला आधाको १५ कोठे भवन दुई वर्ष अघिदेखि एसएएस कन्स्ट्रक्सन प्रालिले निर्माण शुरु गरेको थियो ।
निर्माण सम्पन्नपछि भवन उद्घाटनमा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश गैरे,हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाई उप्रेती, १ नम्बर प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका शाखा प्रमुख प्रहरी उपरीक्षक इन्जिनियर अनिल राना लगायत जिल्ला सुरक्षा समिति सदस्यहरू,राजनैतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैरे,पालिका अध्यक्ष अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका शाखा प्रमुख प्रहरी उपरीक्षक इन्जिनियर रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा यस कार्यालयलाई सहयोग पुर्याउने हिलिहाङ गाउँपालिका अध्यक्ष तथा परिवार,स्थानीय समाजसेवी भवानी प्रसाद लिङ्देन र निर्माण कम्पनीका प्रोप्राइटर शैलेन्द्र कुमार कुरूम्वाङलाई प्रशंसापत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।