सन् १८५७ को क्रान्तिका गीतहरू

  विरही काइँला
175 Shares

अंग्रेज इतिहासकारहरूले सन् १८५७ को भारतीय क्रान्तिलाई ‘सिपाही विद्रोह’ अथवा ‘गदर’-को संग्या दिएका छन । उनीहरूले यसलाई स्वतन्त्रता संग्राम भन्न रुचाएनन् । त्यसताक भारतका तत्कालीन सचिव अर्लस्टैनलीले यसलाई ‘सिपाही विद्रोह’ भनी आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन । वास्तवमा सन् १८५७ को क्रान्ति भारतीयहरूले अंग्रेज शासनबाट मुक्त पाउनका लागि गरेका पहिलो स्वतन्त्रता संग्राम थियो ।

१० मई १८५७मा मेरठमा कम्पनिको सेनाका सिपाहीहरूले सुरु गरेको संग्राममा सिपाहीदेखि किसान, श्रमिक, जमीनदार, राजा-महाराजा सबै वर्गका मानिसहरू सरिक थिए । व्यापक जन समर्थन र सबैको एउटै संकल्प अंग्रेज शासनलाई मातृभूमिबाट उखेलेर फ्याँक्नु थियो । क्रान्ति जनताको मन मस्तिष्कमा पसिसकेको थियो । जसको विशद चित्र लोक गीतहरूमा पाइन्छ । यहाँ यस्ता लोक गीतहरू संक्षेपमा चर्चा गरिनेछ । कौरवी लोक गीतमा सन् १८५७ को क्रान्तिको समय दिल्लीको वर्णन यसरी गरिएको छ –

बनी बनाई फौज बिगड गई आ गई उलटी दिल्लीमे ।

शाह जफरका लुटा नसीब रहने लगा हवेली में ।

गंगाराम याहञदी ने जी देखओ तो क्या काम किया ।

अंग्रेजो से मिला रहा, और लडने का बस नाम किया ।

फौज ने मांगा खाने को, ना उनको कोई काम किया ।

भूखे लडते रहे गाजी अरू,किनको सुमू शाम किया ।

वोई सूरमा लडे वहाँ पै जिनके सिर थे हथेली में ।

चारों मोरचे तोडे खाकियों ने चारों को फिर मरवाया ।

दसों दरवाजे दसों मोरिये सबको उसने तुडवाया ।

  शहर पनां थी जो शहर की वहीं लाशोंको लटकाया ।

तडप-तडप के मर गये गाजी पानी तक ना मुंह को लाया ।

 हर एक एक का दुश्मन यारों जो थे लोग देहली में ।

दिल्लीका बादशाह बहादुर शाह जफरको सायरी –

लश्करे आदा इलाही आज सारा कल्त हो ।

गोरखा गोरे से लेकर तान सारा कल्त हो ।

आज का दिन ईदेकुबाँ जब ही जानंगे कि हम ।

ऐ ! जफर तहतेग जब कातिल तुम्हारा कल्त हो ।

भोग विलासमा श्रमशक्ति गुमाइ सकेका ८२ वर्षका दिल्लीका मुगल सम्राट बहादुर शाह जफरलाई बुढेस कालमा अंग्रेजहरूको विरूद्ध तलवार उठाउनु सम्भव थिएन । आखिर २१ सितम्बर १८५७ मा बहादुर शाह जफरले अंग्रेज सेनापति मेजर हजसन समक्ष आत्मसमर्पण गरे । क्रूर हजसनले निहत्या एवं निरीह बहादुर शाह जफरका नाती अनुब्रक मिर्जालाई २२ सितम्बरमा अनि छोरा मुगल मिर्जा र खिर्जसुल्तान मिर्जालाई २३ सितम्बरकोदिन गोली हानी हत्या गरे । यसरी नै १८ नोभेम्बर १८५७ मा उनका परिवारका अन्य सदस्य मिर्जा मेहरोक, मिर्जा रामजानी, मिर्जा खुजाशेख, मिर्जा जिर्मुदा शाह, मिर्जा अबदालीलाई फाँसीमा चडाइयो भने मुहमदबख्श मिर्जा, मौलाबख्श मिर्जा, नादिरबख्श मिर्जा, अहमदबख्श मिर्जा, करिमबख्श मिर्जा, गुलामबख्श मिर्जा, अबिदुदिनअब्बास मिर्जा, मुबारक मिर्जा, बहादुर मिर्जा, कुतुबदिन मिर्जा आदिको हत्या गरेर अंग्रेजहरूले तैमुर वंश नाश गरे । बहादुर शाह जफरलाई कैद गरी रंगून पठाइयो । बहादुर शाह जफरको मृत्यु ७ नोभेम्बर १८६२ मा रंगूनमा नै भयो ।

कितना है बदनसीब जफर दफ्न के लिये ।

दो गज जमीन भी न मिली कूए यार में ।

१९ नोभेम्बर१ ८२८ मा काशीमा जन्मेकी मणिकर्णिकाको विवाह सन १८४२ मा झाँसीका राजा गंगाधर रावसँग भएको थियो । विवाह पश्चात मणिकर्णिकाले रानी लक्ष्मीबाई नामले झाँसीमा शासन गरिन । सन् १८५३ मा पति गंगाधर रावको देहान्त पश्चात आफ्ना धर्मपुत्र दामोदर रावलाई अंग्रेजहरूले गंगाधरको उत्तराधिकारी मान्न तयार भएनन् । रानी लक्ष्मीबाईले अंग्रेजहरूको विरूद्ध युद्ध लडिन । स्त्रीहरूलाई सैनिक तालिम दिइ उनीहरूको अलग दस्ता तयार गरेकी थिइन । लक्ष्मीबाईको वीरता बुंदेली लोक गीतहरूमा प्रसस्त पाइन्छ –

खूब लडी मरदानी,अरे झाँसी वारी रानी ।

पुरजन पुरजन तोपें लगादई, गोला चलाए असमानी ।

अरे झाँसी वारी रानी, खुब लडी मरदानी ।

सबरे सिपाइन को पैरा जलेबी, अपन चलाई गुरधानी ।

अरे झाँसी वारी रानी, खुब लडी मरदानी ।

छोड मोरचा जसकर कोंदौरी,ढूंढेहू मिले नही पानी ।

अरे झाँसी वारी रानी, खुब लडी मरदानी ।

कवि कल्याणसिंह कुडराले रानी लक्ष्मीबाईको वीरताको वर्णन यसरी गरेका छन् –

मरदन सो जंग माय ऐसी करनी ना बनी ।

सुरपुर पौंची जाय नाना की उतरी मनी ।

कहत ‘कल्याण’ बान राखी परमेसुर नै ।

बाँकों कर साकौ सुरलोक कौ सिधाई है ।

सूरको सराहें जो गुनीन गुन गावैं हाल ।

बाई की लडाई में जहान की बढाई है ।

अंग्रेज शासनको विरद्ध ग्वालियरको युद्धभूमिमा लड्दा लड्दै रानी लक्ष्मीबाईले कहिल्यै नमेटिने गरी आफ्ना वीरत्वको चिन्ह्र छोडेर १८ जून १८५८ मा वीरगति प्राप्त गरिन । तत्पश्चात अंग्रेजहरूले झाँसीमाथि लुटपाट मच्चाए –

कट गई झाँसी वारी रानी ।

झाँसी वारी रानी, कट गई झाँसी रानी लाल ।

चौतरफा से आफत आ गई, झाँसी भई बिरानी ।

घर-घर बिडन लगे अंगरेजा, लूटन है रजधानी ।

काटत हांत-पांव रजपूतन,सुनत न कोउ बानी ।

बहुएं-बिटियां पकर लेत है करत राम मनमानी ।

रानी लक्ष्मीबाईका सहयोगी राजा मर्दनसिँह अंग्रेजहरूको विरुद्धमा लड्दै थिए । १७ सितम्बर १८५७ को लडाइँमा यिनको बन्दुकको गोली लागेर अंग्रेज सेनाका कर्नल डल्जेको मृत्यु भयो । सन् १८५८ मा अंग्रेजहरूले राजा मर्दनसिँहलाई कैद गरे । २२ जुलाई १८७९ मा राजा मर्दनसिँहले मथुरा जेलमा आफ्ना नश्वर शरीर त्यागे । यिनको बारेमा एउटा बुंदेली लोक गीत यस्तो छ-

का कहिये खानपुर बारे की ।

मर्दनसिंह नृपत जुझार की ।

सेना सजन बजन रमतूला चोटें समर नगारे की ।

अंगरेजन की गैर उतर गई, पैनी धार दुधार की ।

का कहिये खानपुर बारे की ।

१४ सितम्बर १८५७ मा जबलपुर क्षेत्रका राजा शंकर शाह र तिनका छोरा रघुनाथ शाहलाई डिप्टी कमिश्नर क्लार्कले गिरफ्तार गरे । तिनी दुईमाथि अंग्रेजहरूको विरुद्ध राजा शाहले आफ्ना इष्टदेवी समक्ष एउटा प्रार्थना-पत्र चढाएको अभियोग लगाइएको थियो ।

मूद मुख डंडिन को चुगलन कोचबाई खाई,

खूंद दौड दुष्टन को शत्रु न संहारिका ।

मार अंग्रेज रेज कर दई मात चंडी,

बचे नही बैरी एरी प्रलयंकारिका ।

शंकर की रक्षा कर दास प्रतिपाल कर,

दीन की सुन टेर आकै मात प्रणपलिका ।

खाई लेई मलेच्छन को झेल नही करौं अब,

भच्छन् कर ततच्छन् कोर मात बालिका ।

१८ सितम्बर १८५७ मा शंकर शाह अनि रघुनाथ शाहलाई जबलपुर एजेन्सी हाउसको प्रांगनमा तोपको मोहजरीमा बाँधेर उडाइयो । अंग्रेजहरूको यस घृनित कृत्यले सम्पूर्ण जबलपुर विद्रोहको अग्नि ज्वाला बन्यो ।

सन् १८५७ को स्वतन्त्रता संग्राममा शंकरपुरका राना माधवको वीर गाथा आज पनि अवधका  ग्रामञ्चलमा गाइन्छ –

अवध मा राना भयो  मरदाना ।

पहिल लडाई भई बक्सर मा सेमरी के मैदाना ।

हुवां से जाय पुरवा मा जीत्योतबै लाट घबडाना ।

यसरी नै बिहारको माटोमा सन्१८५७ को स्वतन्त्रता संग्रामको सूत्रपात बाबू कुँवरसिंहको अगुवाइमा भएको थियो । यिनका सुयोग्य भाई अमरसिंह साथै विहारका असंख्य मानिसहरूले कुँवरसिंहलाई साथ दिएका थिए । स्त्रीहरू आफ्ना पतिदेवलाई कुँवरसिंहको साथमा गएर फिरङगीहरूको विरुद्ध लड्न अनुनय गर्दै गाइने भोजपुरी लोक गीत यस प्रकार छ –

जाहु-जाहु पिया तूँ कुँवर के लडइया मे, छोडी देहु अब कदरइया, हे हरि ।

होके मद मरदानी देखाव, अब देसवा में होखत लडइया,हे हरि ।

नाहीं त समर छोड घर मेंबइठ जाहु,औरत के पहिर लुगरिया,हेर हरि ।

पहिर के साडी-चूडी, मुहवाँ छिपाई लेहु, नाही त रन मेंलडइया,हे हरि ।

अवधका नवाब वाजिद अलि शाहका बेगम हजरत महलमा संगठन गर्ने अद्भुत क्षमताको कारण राजा,तालुकदार तथा जनताहरूलाई सन् १८५७ को क्रान्तिमा सरिक गराउन सफल भएकी थिइन । मौलवी अहमदुल्ला शाह, गोण्डाका राजा देवीबख्श, संकरपुरका राना बेनीमाधव, सन्डीका गुलाबसिंह, बक्सरका रामबख्शसिंह, चलहारीका राजा बलभद्रसिंह,बाबा रामस्नेही  आदि शूरवीरहरूले क्रान्तिमा सक्रिय भाग लिए । बेगम हजरत महलले आफ्ना छोरा बीरजिस कादरलाई लखनउको खाली सिंहासनमा बसालिन । त्यस समय लखनउ क्रान्तिकारीहरूको गढ बनि सकेको थियो ।

 सन्१८५७को क्रान्ति दबाउन  गभर्नर जनरल लर्ड केनिङले नेपालसँग सैनिक सहायता मागे ।  अंग्रेजहरूलाई रिझाउने काममा चतुर जंगबहादुर पछि परेन । तिनले २ जुलाई १८५७ मा ६ रेजिमेन्ट गोरखाली सेना हिन्दुस्तानतिर पठाए । गोरखाली सेनाले आजमगढ, जौनपुर, कुण्डिया, उतरौला, मुबारकपुर, चाँदा, सोहनपुर, फिरोजपुर, सारबन, हमीदपुर, नरसतपुर, बादशागञ्ज आदि ठाउँहरू कब्जा गरे ।  कानपुरको लडाइँ अंग्रेजहरूले जिते पछि नाना साहबको समक्ष अग्यात बासको अतिरिक्त अब अन्य विकल्प थिएन । नाना साहब,बाला साहब र अजिमुल्ला खाँ भूमिगत भए ।

जंगबहादुर राणा  स्वयं ३ पल्टनको साथमा १० दिसम्बर १८५७ मा गोरखपुर हुँदै लखनउतर्फ बढे । ११ मार्च १८५८ मा जंगबहादुरले क्रान्तिकारीहरूको मुख्य गढ लखनउ माथि आक्रमण गरेर आफ्नो अधीन गराए । लखनउको पतन पश्चात क्रान्तिकारीहरूको स्थिति झन विकट बन्यो । बेगम हजरत महल, बीरजिस कादर,नाना साहब, बाला साहब, अजिमुल्ला खाँ, देबीबख्श, राना बेनीमाधव, मेहमुद खान, मीर मेहदी, गुलाबसिंह आदि भागेर नेपाल पसे । लखनउ लडाइँको चित्रण नेपाली लोक गीतमा पनि पाइन्छ-

गोरखालीले हान्न जाँदा भाग्यो नवाब पनि ।

पिछा पर्न आइन बेगम रानी ।

आपसमा फुट औ कतिपय गद्दारहरूको कारणले गर्दा प्रथम स्वतन्त्रता संग्राम असफल भएपछि ६० हजार क्रान्तिकारीहरूले नेपालको तराइमा शरण लिए । लगभग ४० हजारको संख्यामा क्रान्तिकारीहरू दाङ-देवखुरमा आवाद थिए, भने बाँकि २० हजारको संख्या बाँकेको शिवराज खजहनी आदि क्षेत्रमा फैलिएका थिए । क्रान्तिकारीहरू नेपाल आउने क्रम रोकिएको थिएन । नेपाल प्रवेश गर्न लागेका ज्वालाप्रसाद, खानबहादुर खान र तिनका साथीहरूलाई अंग्रेज सेनाले गिरफ्तार गरी फाँसी दिए । राजा देवीबख्श, राना बेनीमाधव,गुलाबसिंह आदि जंगबहादुरका वफादार कर्नल पहलवानसिंहको सैनिक अभियानमा मारिए ।

दाङ देवखुर नजिक तारा गाउँमा २४ सितम्बर १८५९ मा नाना साहबको निधन भयो । उनी धेरै दिनदेखि अस्वस्थ थिए । मलेरियाको ज्वरोले बाला साहब, अजिमुल्ला खाँ बीरजिस कादर आदि धेरै क्रान्तिकारिहरुको मृत्यु भयो । एकपछि अर्का क्रान्तिकारी नेपालको माटोमा विलिन हुँदैगए । काठमान्डौंको थापाथलीमा बेगम हजरत महलले ७ अप्रेल १८७९ मा देह त्याग गरिन ।

(काठमाडौंको दरवारमार्गस्थित बेगम हजरत महलको समाधि)

नाना साहबका विधवा काशीबाई,कृष्णा बाई, अनि बाजी रावका विधवा सरस्वती बाईको पनि देहावसान  काठमाण्डौंमा नै भयो । सन् १८५७ को क्रान्तिका एकैजना जीवित क्रान्तिकारी हिन्दुस्तान फर्केनन् ।

अमेरिका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार